गोरखा, १३ वैशाख । हालसम्म जिल्लाका ८८ हजार ७१६ जनाले स्वास्थ्य बिमा गराएका छन् । सबैभन्दा बढी गोरखा नगरपालिकामा २१ हजार ७ शय १८ जनाले स्वास्थ्य बीमा गराएको स्वास्थ्य बीमा बोर्ड कार्यालय गोरखाले जनाएको छ । यस्तै पालुङटार नगरपालिकामा १६ हजार १ शय ५१ र सिरानचोक गाऊँपालिकामा ९ हजार ९ शय ४२ जनाले बीमा गराएको कार्यालय प्रमुख बिशाल लौडारीले जानकारी दिनुभयो ।
आरुघाट गाउँपालिकामा बिमा गराउनेको संख्या ८ हजार ३ शय ३४, शहिद लखनमा ८ हजार ७४, भिमसेन थापामा ७ हजार ८ सय ४८, अजिरकोटमा २ हजार ४ शय १३ रहेका छन् । कार्यालय प्रमुख लौडारीका अनुसार बारपाक सुलिकोटका ६ हजार, गण्डकीका ५ हजार ३ सय १०, धार्चेका १ हजार ८ सय ९३ जनाले बिमा गराइ सकेका छन् । यता उतरी गारखाको चुमनुब्री गाँउपालिकामा ७ सय ७४ जना स्वास्थ्य बिमाको पहुँचमा रहेका छन् । स्वास्थ्य बिमा गराउनेमा पुरुषको भन्दा महिलाको संख्या धेरै देखिएको छ । जसमा पुरुष ४२ हजार ११४ रहेका छन् भने महिला ४६ हजार ६०२ रहेका स्वास्थ्य बीमा बोर्ड कार्यालय गोरखाकोे तथ्याङकमा उल्लेख गरिएको छ ।
हालसम्म बीमा गराएकामध्ये १ हजार ९ सय ३३ अति गरीव परिवार, १५ हजार ९ शय ४ जना जेष्ठ नागरिक, क वर्गको अपाङता भएका ५ शय ९८ परिवार र ३ सय ४३ जना एचआइभी संक्रमितको निशुल्क बिमा गरिएको उहाँले बताउनुभयो । महिला स्वास्थ्य स्वयमसेविका अन्तर्गत ३ सय ४१ परिवारलाई ५० प्रतिशत छुटमा स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिएको छ । स्वास्थ्य बिमाको सदस्यताको लागि ५ जना सदस्य भएको परिवारलाई एक एकाई निर्धारण गरिएको छ ।
एउटा परिवारले वर्षको ३ हजार ५ सय रुपैयाँ तिरेपछि वर्षभरीमा १ लाख रुपैया बराबरको स्वास्थ्य सेवा लिन पाउँछन् । यदि ५ जनाभन्दा बढी सदस्य भएको परिवार भए १ व्यक्ति बराबर ७ शय रुपैयाँ थपिन्छ भने सेवा पनि १० हजार थप लिन सक्ने व्यवस्था रहेको छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत बीमा गर्ने व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेसन लगायतका उपचारमा बार्षिक १ लाख रुपैया बराबरको स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन् ।
जिल्लामा गोरखा अस्पताल, आँपपिपल अस्पताल, मकैसिं, जौवारी र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य बीमा बोर्डले उपचारका लागि सूचीकृत गरेको छ । जिल्लामा २०७४ सालको असारबाट स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको हो । गत आर्थिक वर्ष २०७८÷७९मा ६२ हजार ३२७ जनाले स्वाथ्य बिमा गराएका थिए । स्वास्थ्य बीमा बोर्ड कार्यालय गोरखाको तथ्याङक अनुसार अहिले सम्ममा जिल्लामा १८ हजार ७७ परिवारले बिमा गराएका छन् ।