गोरखा, १२ बैशाख । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले ठूलो बलिदानबाट प्राप्त उपलब्धीलाई उल्ट्याउन अहिले भयानक षडयन्त्र र घेराबन्दी भइरहेको बताउनु भएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज गोरखा भुकम्पको केन्द्रबिन्दु बारपाकमा आयोजित भुकम्प स्मृति दिवस कार्यक्रममा बोल्दै उहाँले परिवर्तनलाई उल्ट्याउन खोज्ने सवै प्रकारका प्रयत्नहरुलाई असफल पारेर महान उपलब्धीहरुको रक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो ।
पछिल्लो समय राजनीतिक पार्टी तथा तिनका नेताहरुलाई बदनाम गर्ने र देशमा अराजकता उत्पन्न गरि अराजकताको जगमा देशको राष्ट्रियता कमजोर पार्ने बिभिन्न षडयन्त्र भइरहेको भन्दै उहाँले त्यसका बिरुद्ध सचेत रहन पनि सवैलाई आग्रह गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले जनतालाई भ्रममा नपरि गलत प्रवृतिलाई असफल पार्नुपर्नेमा जोड दिनुभयो ।
‘नेपालमा राजनीतिक पार्टीहरुले ठूलो युगान्तकारी परिवर्तनका लागि सर्घष गरे, उहाँले भन्नुभयो, ‘यो परिवर्तनलाई संविधानसभाबाट संविधान बनाएर परिवर्तनको संस्थागत बिकास भयो, अहिले त्यहीँ परिवर्तनलाई उल्ट्याउन खोज्ने सवै प्रकारका प्रयत्नहरुलाई असफल पारेर महान उपलब्धीहरुको रक्षा गर्नु आबश्यक छ ।’ उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान परिवर्तनलाई सामाजिक र आर्थिक क्षेत्रमा बिस्तार गर्नका लागि भइरहेको प्रयत्नलाई बदनाम गर्न खोजिएको समेत बताउनुभयो ।
उहाँले ब्यबस्थामा परिबर्तन भएपछि अबस्थामा सापेक्षित परिवर्तन गर्न किन सकिएन भन्ने तर्फ दलहरुले पनि समिक्षा गर्नुपर्ने आबश्यकता समेत औल्याउनुभयो । ‘राजनीतिक पार्टीहरु जसले यो परितर्वन ग¥यो, यो व्यवस्था ल्यायो, तर यो व्यवस्थामा परिवर्तन भएपछि जनताको अबस्थामा परिवर्तन गर्नका निम्ति हामीले आजसम्म के गर्यौ के गर्न सकेनौ त्यसको समिक्षा गरेर आबश्यकता अनुसार आफूलाई बदलेर फेरि जनताको अपेक्षा र आबश्यकता पूरा गर्नेगरि सम्बृद्ध नेपाल बनाउने तर्फ हामी अगाडी बढ्नुपर्छ ।’ उहाँले भन्नुभयो ।
उपप्रधानमन्त्री श्रेष्ठले जनतालाई रुपान्तरणको महसुस गराएरै छाड्ने समेत बताउनुभयो । उहाँले बिकास र समृद्धिको यात्रालाई तिब्र पार्नु अहिले अवस्यकता रहेको उल्लेख गर्नुभयो । अर्को फरक प्रंसगमा उपप्रधानमन्त्री श्रेष्ठले सरकारले भुकम्प लगायतका बिपतलाई रोक्न नसके पनि बिपतबाटबाट हुने क्षतिलाई न्यूनीकरणका गर्न योजना निर्माण गरिरहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले बिपतबाट हुने क्षति न्युनिकरणका लागि बिपतको पूर्वसूचना प्रणालीलाई ब्यवस्थित गर्ने गरि काम गरिरहेको भन्दै बिगतका कमजोरीले भएका क्षतिलाई समिक्षा गरेर आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले बि.स २०७२ को भुकम्पले बारपाकलाई नयाँ पहिचान दिएको बताउनुभयो ।
‘पहिले बारपाकले सुन्दर गाउँ, पर्यटकिय गाउँ लगायतको पहिचान दिएको थियो, उहाँले भन्नुभयो, २०७२ बैशाख १२ को भुकम्पले थप पहिचान पनि दिएको छ ।’ उपप्रधानमन्त्री श्रेष्ठले गोरखाको बाह्रकिलो बारपाक सडक खण्ड कालो पत्रेको काममा ढिलाइ भइरहेको भन्दै काम छिटो सम्पन्न गर्न पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।