गोरखा, ११ बैशाख ः गोरखाको भीमसेन थापा गाउँपालिका–३, टारीफाँटमा रहेको एक बिधालयमा आज दिउँसो आगलागी हुदाँ ५० लाख रुपैया भन्दाबढीको क्षति भएको छ । श्री नवज्वोती माध्यामिक बिधालयमा रहेको कम्युटर ल्यावमा आगलागी हुदाँ ल्याबमा रहेका सम्पूर्ण सामाग्री जलेर क्षति पुगेको वडा नम्बर ३ का वडाध्यक्ष ऋषिराम लामिछानेले जानकारी दिनुभयो । बिहान करिब ११ बजेको समयमा बिधालयमा पठनपाठन भइरहेका बेला आकस्मिक रुपमा आगलागी भएको उहाँले बताउनुभयो ।
‘बिधालयमा पठनपाठन सञ्चालन भइरहेको बेला एक्कासी आगलागी भएपछि शिक्षक, बिधार्थी तथा स्थानीय अभिभावकहरु मिलेर आगो नियन्त्रणमा लिएको वडाध्यक्ष लामिछानको भनाई छ । आगलागीको कारण खुल्न नसकेपनि बिद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । ‘आगलागीको अन्य त्यस्तो कुनै कारण देखिएको छैन, उहाँले भन्नुभयो, ‘कम्युटर ल्याबमा बिद्युत सर्ट भएर आगलागी भएको आंशका गरिएको छ ।’ आगलागीबाट कम्युटर ल्याबमा रहेका ३५ कम्युटर लगायतका उपकरण जलेर पूर्ण रुपमा क्षति भएको वडाध्यक्ष लामिछानले जानकारी दिनुभयो ।
‘ल्यावमा रहेका १ थान एभिआर वोर्ड, ३५ थान कम्युटर टेवल, ल्याव कक्षामा जडान गरिएको सिसिटिभी, १ थान प्रिन्टरमा समेत आगलागीबाट पूर्ण रुपमा क्षति पुगेको छ, उहाँले भन्नुभयो, ‘त्यस बाहेक २५ थान प्लास्टिकको चियर ३० थान कम्युटर चियर, सोलार व्याटी ८ थान पनि आगलागीबाट जलेर क्षति पुगेको छ ।’ क्षतिको थप बिबरण संकलन गर्ने काम भइरहेको वडाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । शैक्षिक सत्र २०८० को कक्षा सुरु भएको आज पहिलो दिन नै बिधालयमा आगलागी भएको बिधालयका प्रधानध्यापक ठाकुरप्रसाद लामिछानेले जानकारी दिनुभयो ।