काठमाडौं, १० वैशाख । सवारी दुर्घटनामा कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु भएको छ। अधिकारीको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उपमेयर शुभलक्ष्मी शाक्यले जानकारी दिनुभयो। उहाँलाई चिकित्सकले आइतबार दिउँसो २ बजेतिर मृत घोषणा गरेका हुन्।
‘कीर्तिपुरको चम्पादेवी मन्दिरमा वैशाख १ गते लाग्ने मेलामा व्यवस्थापन तथा सरसफाइका लागि पुगेका अधिकारीको बिहान पौने १० बजेतिर कीर्तिपुर—४ पुष्पलाल पार्कस्थित ओरालोमा बा ८३ प ९४४८ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो। ब्रेक नलागेपछि अनियन्त्रित भएर मोटरसाइकल ढुंगामा ठोक्किँदा दुबै जना घाइते भएका थिए।
स्थानीयले उनीहरू दुबै जनालाई अचेत अवस्थामा फेला पारेका थिए। कीर्तिपुर अस्पतालमा सिटीस्क्यान गरेलगत्तै उहाँलाई अन्नपूर्ण अस्पताल लगिएको थियो। अहिले शवको पोष्टमार्टम गर्न टिचिङ अस्पताल लग्ने तयारी गरिरहेको छ।