काठमाडौँ, ६ वैशाख । गोरखा र धादिङको सीमानामा बुढीगण्डकी नदीमा बन्ने १२ सय मेगावाटको जलासययुक्त आयोजनाको निर्माण कार्यलाई तत्काल सुरु गर्न नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद पाण्डेले माग गर्नु भएका छन् ।
उहाँले प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै आयोजना निर्माण सुरु गर्ने प्रतिवद्धता जनाउन सरकारको नाममा रुलिङ गर्न सभामुखलाई पनि आग्रह गर्नु भएका छन् ।
सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पनि स्वीकृत भइसकेको भन्दै उहाँले तत्काल निर्माण गर्न माग गर्नुभयो ।
उक्त आयोजना निर्माणका लागि अब २ खर्ब ६० अर्ब भए पुग्ने र सरकारले यही आयोजनाका लागि भनेर पेट्रोलियम पदार्थमार्फत १ खर्ब रुपैयाँ भन्दा बढी संकलन गरिसकेको पाण्डेले बताउनुभयो ।
‘सरकारले आयोजनाका लागि १ खर्ब ५ अर्ब रुपैयाँ तेलबाट कर उठाइसकेको छ । वार्षिक २५ अर्ब रुपैयाँ तेलबाट उठ्छ । २० प्रतिशत शेयर उठाउँदा करिब ५० अर्ब उठ्छ । निर्माण अवधिमा तेलबाटै २ खर्ब रुपैयाँ उठ्छ । वर्षमा २५ अर्बको स्रोत सुनिश्चित गर्दा यो आयोजना बन्छ’, उनले भने ।
यो आयोजनाको मुआब्जा वितरणमा सरकारले ४१ अर्ब रुपैयाँ खर्च गरिसकेको भन्दै उनले आयोजना निर्माण भएमा जलविद्युत, पर्यटन र माछापालनबाट लाखौं मान्छेले रोजगारी र व्यवसाय गर्न सक्ने बताउनुभयो।
बुढीगण्डकी आयोजनाका लागि पेट्रोलियम पदार्थबाट संकलन गरेको रकम सरकारले अन्यत्र लगानी गरेकामा असन्तुष्टि जनाउँदै उनले तत्काल निर्माण अघि बढाउन माग गर्नुभयो ।