दीपक श्रेष्ठ
गोरखा, ४ बैशाख (रासस) ः गोरखाको अजिरकोट गाउँपालिकाले पालिका भित्रका सामुदायिक बिधालयहरुमा शैक्षिक गुणस्तर सुधारका लागि बिधालय मर्ज र योग्यताका आधारमा बिधालयहरुमा प्रधानध्यापक नियुक्त गरेको छ । गाउँपालिकाले सामुदायिक बिधालयमा बिधार्थीहरुको आर्कषण बढाउन तथा बिधालयहरुको खस्किदो शैक्षिक अबस्था सुधारका लागि पालिका भित्रका पाँच वटा बिधालय मर्ज गरेको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।
‘गाउँपालिकाले पनि शिक्षा क्षेत्रमा ठूलो धनरासी खर्च हुन्छ, उहाँले भन्नुभयो, राज्यले लगानी गरिसकेपछि शैक्षिक गुणस्तर राम्रो हुुनुपर्छ, सामुदायिक बिधालय राम्रो बनाउन मुख्य कुरा बिधालयको नेतृत्व राम्रो हुनपर्ने तथा आबश्यक जनशक्तिको व्यवस्था गर्नुपर्छ भन्ने उद्देस्यका साथ नीति बनाएर बिधालय मर्ज र तथा योग्यताका आधारमा प्रधानध्यापक नियुक्त गरिएको हो ।’
सामुदायिक बिधालयहरु प्रति अभिभावक र बालबालिकामा समेत बिश्वास नहुदाँ गाउँबाट शहरमा बसाई सर्नेको संख्या बढ्दो रहेको भन्दै गाउँका सामुदायिक बिधालयलाई तिव्र गतिमा प्रशासनिक, शैक्षिक, भौतिक तथा अतिरिक्त क्रियाकलापमा सुधार गर्नका लागि क्रमबद्ध ढंगबाट अजिरकोट गाउँपालिकाले काम थालनी गरिसकेको अध्यक्ष देवकोटाको भनाई छ ।
‘गाउँबाट शहरमा बसाइ सर्ने मानिसहरुको संख्या बढ्दो छ, उहाँले भन्नुभयो, ‘आमजनताको सामुदायिक बिधालय प्रति आर्कषण बढाउनका लागि ठोस कार्यक्रम नै बनाएर अघि बढ्नुको कुनै बिकल्प छैन, त्यसका लागि हामीले थालनी गरेका छौ ।’ अध्यक्ष देवकोटाले शैक्षिक गुणस्तर बृद्धिका लागि बिधालयहरुको प्रशासनिक क्षेत्रको सुधारसंगै बिधालयको भौतिक पूर्वाधारको बिकास पनि अनिबार्य भएकाले गाउँपालिकाले त्यसतर्फ समेत योजना निर्माण गरिरहेको बताउनुभयो ।
‘आगामी शैक्षिक सत्रका लागि पाठ्यक्रमलाई समेटेर करिकुलम नै बनाउने क्रममा हामी लगभग अन्तिम चरणमा छ, उहाँले भन्नुभयो, ‘गाउँपालिका भित्रका अभिभावक र बालबालिकाहरुको मन जित्ने गरि शैक्षिक क्षेत्रको बिकास गर्न गाउँपालिका प्रतिवद्ध भएर लागेको छ ।’ अध्यक्ष देवकोटाले पालिका भित्रका २८ मध्ये पाँचवाट आधारभूत बिधालयलाई मर्ज गरेको बताउनुभयो ।
‘बिधार्थी संख्या कम हुने शिक्षकहरु धेरै हुने, बिधार्थी कम हुँदा झनै निगरानी पनि कम हुने अबस्था सामुदायिक बिधालयमा छ, उहाँले भन्नुभयो, ‘कम बिधार्थी भएका बिधालयका बिधार्थीहरुलाई बढी बिधार्थी भएका बिधालयमा सार्दा व्यवस्थापन पनि पनि प्रभावकारी ढंगबाट गर्न सकिने र अभिभावकको पनि बढी चासो हुने ठाउँमा सार्दा शैक्षिक प्रगती गर्न सकिन्छ, अर्को कुरा शैक्षिक सेवा प्रवाहलाई सहजीकरण र सरलीकरण गर्न सजिलो हुन्छ भनेर बिधालय मर्ज गरिएको हो ।’
उहाँले सामुदायिक बिधालयहरुलाई व्यवस्थित गरेर सञ्चालन गर्दा गाउँपालिकाले दिने सेवा सुविधालाई पनि व्यवस्थित र उपलब्धी देखिने गरि लागनी गर्ने वातावरण तयार हुने बताउनुभयो । अध्यक्ष देवकोटाले गाउँपालिकाले बिधालय समयोजन संगै पालिका भित्रका बिधालयहरुमा दरबन्दी मिलान तथा योग्यताका आधारमा प्रधानध्यापक नियुक्त गरिसकेको जानकारी दिनुभयो ।
‘अजिरकोट गाउँपालिका भित्र ८ वटा माध्यामिक बिधालयहरु छन् उहाँले भन्नुभयो, आठ वटै माध्यामिक बिधालयमा योग्यताका आधारमा शिक्षक सेवा आयोगबाट पास गरेर आएका स्नातकोत्तर मा.वि कन्र्फम स्थायी शिक्षकहरुलाई मात्र बिधालयको नेतृत्व गर्न पठाएका छौ ।’उहाँले बिधालयको नेतृत्व सवल भएपछि मात्र बिधालयका सवै क्षेत्रको बिकास गर्न सकिने भएकाले सवल र सक्षम नेतृत्वको छनोट गरि बिधालयको नेतृत्व गर्न पठाएको बताउनुभयो ।
सामुदायिक बिधालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने एक मात्र उद्देस्य गाउँपालिकाको रहेकाले राजनीतिक आस्थाका आधारमा दक्षता र क्षमता नहेरी प्रधानध्यापक नियुक्त गर्ने प्रचलनको गाउँपालिकाले अन्त्य गरेको उहाँको भनाई छ । अध्यक्ष देवकोटाले आगामी पाँच बर्ष भित्रमा अजिरकोट गाउँपालिकाले शिक्षा क्षेत्रको बिकासमा नयाँ फड्को मार्ने समेत दावी गर्नुभयो ।