Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

आगामी वर्षदेखि बुढीगण्डकी आयोजना निर्माण अघि बढ्छः उपप्रधानमन्त्री श्रेष्ठ


1.4K
Shares

आगामी वर्षदेखि बुढीगण्डकी आयोजना निर्माण अघि बढ्छः उपप्रधानमन्त्री श्रेष्ठ

गोरखा, ३ बैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोरखा र धादिङको सिमानामा पर्ने बुढीगण्डकी जलाशययुक्त आयोजना आगामी आर्थिक वर्षदेखि निर्माण सुरू हुने बताएका छन्।

गोरखाको पालुङटार नगरपालिकामा महटार युवा क्लबको आयोजनामा शनिबारदेखि सुरू भएको फुटबल प्रतियोगिता उद्घाटनमा सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षदेखि देशको आर्थिक तथा सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको थालनी गरिने बताएका हुन्।

‘गोरखा जिल्लाका लागि मात्र होइन, राष्ट्रका निम्ति अत्यन्त ठूलो योगदान पुर्‍याउने बुढीगण्डकी परियोजनालाई अर्को वर्षदेखि निर्माण अघि बढाइएको छ, ’उनले भने, ‘बेनीघाट—आरूघाट—रूइला—भञ्ज्याङ सडक निर्माण गरी चीनसँगको नाका खोल्न समेत सरकारले प्रस्ताव गरिरहेको छ।’

उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकार जनताले अनुभूति गर्ने गरी विकास निर्माणका काम अघि बढाउन प्रतिबद्ध रहेको पनि बताए।

‘अहिले प्राप्त राजनीतिक परिवर्तनलाई जोगाउने, यो परिवर्तनलाई माध्यम र साधन बनाएर नेपाललाई विकसित र समृद्ध देश बनाउँदै जनताले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्ने अहिलेको सरकारको अभिभारा हो भन्नेमा सरकार स्पष्ट छ,’उनले भने।

राजनीतिक परिवर्तनलाई जोगाउँदै समृद्ध नेपाल बनाउनु अहिलेको सरकारको उद्देश्य रहेको उनको भनाइ थियो। लामो संघर्षपछि ठूलो बलिदानीका साथ युगान्तकारी राजनीतिक परिवर्तन भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले संविधानको पूर्ण कार्यान्वयनका लागि आर्थिक र सामाजिक परिवर्तनमा तीव्रता दिनु आवश्यक रहेको औंल्याए।

‘सबै जनताले परिवर्तनको प्रतिफल प्राप्त गर्न सक्ने र अनुभूति गर्ने गरी देशलाई विकास र समृद्धिको दिशामा लैजानुपर्छ,’उनले भने। रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology