गोरखा, २६ चैत । गोरखाको पालुङटार नगरपालिकाले आगामी आर्थिक बर्षका लागि नगरपालिकाले ल्याउने नीति तथा कार्यक्रमका लागि सुझाव पेश गर्न नागरिकहरुलाई अनुरोध गरेको छ ।
नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ का लागि १३ औं नगरसभामा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई थप जनमुखी र प्रभावकारी बनाउनका लागि नागरिक स्तरबाट सुझाव संकलन गर्न थालेको हो । नगरपालिकाले यहीँ २७ गतेसम्म पालिकामा सुझाव उपलब्ध गराउन सक्ने नगरप्रमुख बिबस चिन्तनले जानकारी दिनुभयो ।
‘नीति तथा कार्यक्रममा समेट्नु पर्ने केही बिषयबस्तूहरु भएमा सल्लाह सुझाव सहित नगरपालिकामा उपलब्ध गराउन सक्नेछन्, उहाँले भन्नुभयो, ‘नागरिक स्तरबाट प्राप्त हुने महत्वपूर्ण सुझावहरुलाई नीति तथा कार्यक्रममा समेटेर नीति तथा कार्यक्रम निर्माण गरिनेछ ।’ पालुङटार नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ल्याइने नीति तथा कार्यक्रमहरुलाई जनमुखी बनाउनका लागि अहिलेदेखि नै प्रारम्भिक थालनी गरिसकेको उहाँको भनाई छ ।
नीति तथा कार्यक्रमहरुले पालिकाबासी जनताको चाहाना र आवश्यकतालाई सम्बोधन गर्नुपर्ने भन्दै उहाँले जनताका सुझाव र सल्लाहबाट नै जनताले कस्तो कार्यक्रम चाहेका रहेछन् भन्ने बुझ्न सजिलो हुने बताउनुभयो । नगरपालिकाले सुझाव संलकनका यही चैत २१ गते सार्वजनिक सूचना समेत जारी गरिसकेको नगरप्रमुख चिन्तनले जानकारी दिनुभयो ।