एजेन्सी,२१ चैत्र । अमेरिकामा एक शिक्षकले ६ वर्षीय विद्यार्थीले आफूलाई गोली हानेपछि क्षतिपूर्ति माग्दै मुद्दा हालेकी छन् । भर्जिनिया राज्यको रिचनेक प्राथमिक विद्यालयकी शिक्षक अबिगेल ज्वेर्नरले विद्यालय प्रशासनलाई पूर्वसूचना दिँदादिँदै पनि आवश्यक कदम नचालेको भन्दै मुद्दा हालेकी हुन् । उनले ४ करोड अमेरिकी डलर क्षतिपूर्ति मागेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
गत जनवरी ६ मा ती बालकले शिक्षक ज्वेर्नरलाई गोली हानेका थिए। बालकले हानेको गोली हात र छातीमा लागेको थियो । आफू घाइते भए पनि उनले कक्षाकोठाका अरू विद्यार्थीलाई ती बालकबाट बचाएकी थिइन् । उनको उक्त साहसको सर्वत्र प्रशंसा भएको थियो ।
उक्त घटनापछि उनले राजीनामा दिएकी थिइन् । विद्यालयकी सहप्राध्यापक इबोनी पार्करले आफ्नो सुरक्षा गर्न नसकेको भन्दै ज्वर्नरले मुद्दा हालेकी हुन् । ती बालकलाई पहिला पनि हिंसात्मक व्यवहार गरेको कसुरमा विद्यालयबाट निकालिएको भए पनि फेरि भर्ना गरिएको उनको आरोप छ । ती बालकसँग हतियार छ भन्ने सूचना हुँदा पनि प्रहरी र विद्यालय प्रशासनले त्यो फेला पार्न नसकेकाले घटना भएको उनको दाबी छ ।
अमेरिकामा बन्दुक राख्न खुला भएकाले बेला बेलामा गोलीकाण्ड भइरहन्छन् । पछिल्लो समय विद्यालय क्षेत्रमा पनि बन्दुक आक्रमणका घटना बारम्बार भइरहेका छन् । ६ वर्षका बालकले आफ्नी शिक्षकलाई गोली हानेको घटना भने बिरलै हुन्छन् । कानुनअनुसार नै बन्दुक राख्न पाइने भएकाले आक्रमणपछि यसरी मुद्दा हाल्ने घटना पनि बिरलै हुन्छन्।