गोरखा, १२ चैत । गोरखा जिल्लामा फुटवल प्रशिक्षक तालिम संचालन हुने भएको छ । गोरखा जिल्ला फुटवल संघको व्यवस्थापन र अखिल नेपाल फुटवल संघ (एन्फा) को प्राविधिक सहयोगमा तालिम संचालन हुन लागेको हो ।
चैत्र २१ गतेदेखि हरमटारी खेलमैदानमा शुरु हुने तालिममा गोरखा जिल्ला फुटवल संघमा आवद्ध ११ क्लबका प्रशिक्षार्थीको सहभागीता रहने संघका जिल्ला अध्यक्ष बिशाल गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाबाट पनि सहभागी पठाइदिन भन्दै प्रत्येक स्थानीय तहलाई पत्राचार गरिएको छ । जिल्लामा फुटवल प्रशिक्षक (कोच) उत्पादन गर्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
तालिममा सहभागी हुनका लागी एसईई (एसएलसी) उतीर्ण भएको हुनुपर्ने बताइएको छ । १८ देखि ३५ बर्ष उमेर समूहका व्यक्ति मात्र तालिममा सहभागी हुन पाउने छन् । पाँच दिनसम्म चल्ने तालिममा सहभागीलाई ‘डि’ श्रेणीको प्रशिक्षकको प्रमाणपत्र उपलब्ध गराइने बताइएको छ । तालिम अवधिभर एन्फाका कोच शिक्षा प्रमुख सन्चित सिंह, प्राविधिक निर्देशक हरी खड्का, प्रशिक्षक चेत नारायण श्रेष्ठ लगायतले सहजिकरण गर्नेछन् ।