गोरखा, १० चैत । विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय गोरखाले पत्रकार अन्तरक्रिया कार्यक्रममा गरेको छ ।अन्तरक्रिया कार्यक्रममा चालु आर्थिक बर्ष जिल्लामा ४४ जना महिला र ७१ जना पुरुष गरी एक सय १५ जनामा क्षयरोग संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाका निमित्त प्रमुख नरजंङ ठकुरीले जानकारी दिनुभयो । संक्रमित मध्ये पाँच जना १४ बर्ष मुनिका बालबालिका रहेको कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्याङ्ग अनुसार सबैभन्दा बढी गोरखा नगरपालिकामा १७ र सबैभन्दा कम चुमनुव्री गाउँपालिकामा ४ जनामा संक्रमण देखिएको छ । आरुघाट गाउँपालिकामा १५, बारपाक सुलिकोट गाउँपालिकामा १४, पालुङटार नगरपालिकामा १३, शहिद लखन गाउँपालिकामा १२ र धार्चे गाउँपालिकामा १० जनामा संक्रमण देखिएको कार्यालयका निमित्त प्रमुख ठकुरीले बताउनुभयो ।
यस्तै गण्डकी गाउँपालिकामा ९, अजिरकोट र भीमसेन थापा गाउँपालिकामा ८र८ र सिरानचोक गाउँपालिकामा ५ जनामा क्षयरोग देखिएको छ । गत आर्थिक बर्ष जिल्लामा २ सय १५ जना संक्रमित थिए । जिल्लामा १२ वटा खकार जाँच केन्द्र रहेका छन् । जसमा दुई वटा अस्पताल, ३ वटा प्रथामिक स्वास्थ्य केन्द्र बाँकी स्वास्थ्य चौकी रहेको उहाँले बताउनुभयो ।
‘अस्वस्थ जीवनशैली तथा अस्वस्थकर खानपानका कारण पनि मानिसलाई क्षयरोगको संक्रमण हुने खतरा बढ्छ’ उहाँले भन्नुभयो, ‘क्षयरोगको संक्रमण जोसुकैलाई हुनसक्छ ।’ रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसलाई यसले चाँडै असर गर्ने हुँदा घरपरिवारमा कसैलाई क्षयरोग संक्रमण भएमा अन्य सदस्यले पनि कम्तीमा एक पटक खकारको जाँच गर्नुपर्ने नमित्त प्रमुख ठकुरीले बताउनुभयो ।
दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लागेर खोकीसँगै खकारमा रगत देखिनु, हल्का ज्वरो आउनु क्षयरोगको लक्षण हो । सामान्यतया क्षयरोग माइक्रोबैक्टेरियम ट्यूबरकुलोसिस नामक व्याक्टेरियाको संक्रमणका कारण हुने रोग हो । क्षयरोग सरुवा रोग भएकाले श्वास प्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गोरखाअस्पतालकी सनक थापाले बताउनुभयो । नियमित उपचार गरेमा क्षयरोग पूर्ण रुपमा निको हुने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार क्षयरोगका बिरामीले नियमित ६ महिनासम्म औषधी सेवन गर्नुपर्ने हुन्छ ।