गोरखा,६ चैत्र । गोरखाका २१५ जना सहिदको नाम नेपाल राजपत्रमा प्रकाशित भएको छ । मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरिएको हो । गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म सहिद भएकाको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले गोरखासहित ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको हो । जनयुद्धका सहिदहरूले राष्ट्रिय सहिदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएको थियो ।
यससँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकले राष्ट्रिय सहिदको मान्यता पाएका छन् । राष्ट्रिय सहिदका परिवारले यसअघि सहिद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन् ।