Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आफूलाई किन खुलस्त व्यक्त गर्दैनन् पुरुष ?


1.4K
Shares

आफूलाई किन खुलस्त व्यक्त गर्दैनन् पुरुष ?

काठमाडौं, ६ चैत्र । अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयले गरेको एउटा अध्ययनले रोचक तथ्यांक सार्वजनिक गरेको छ । अध्ययन भन्छ— एक महिलाले एक दिनमा औसत २० हजार शब्द बोल्छिन् । अर्कोतर्फ, पुरुषले प्रतिदिन लगभग १३ हजार शब्द बोल्छन् । अर्थात् पुरुषले महिलाको तुलनामा दिनमा सात हजार शब्द कम बोल्छन् ।

यद्यपि महिलाले बढी बोल्नुको पछाडि वैज्ञानिक कारण छ । मेरिल्याण्ड विश्वविद्यालयका विज्ञहरूका अनुसार महिलाको मस्तिष्कमा फक्सप—२ नामक रसायन बढी मात्रामा पाइन्छ । यो एक प्रकारको भाषा प्रोटिन हो ।

महिलाको तुलनामा पुरुषले आफ्नो भावना कम व्यक्त गर्छन् । कसैमा यो बानी जन्मजात रूपमा नै हुन्छ भने कसैमा बिस्तारै विकास हुँदै जाने मनोविद् डा. नरेन्द्र सिंह ठगुन्ना बताउँछन् ।

‘हाम्रो परिवार तथा सामाजिक परिवेशले पनि पुरुषहरूलाई कम बोल्नुपर्छ भन्ने कुरा सिकाउँछ । परिवारमा एउटा छोरा जन्मियो भने उसले हुर्कंदै गर्दा हजुरबुबा तथा बुबाले कम बोलेको, आफ्नो भावना कम व्यक्त गरेको देख्छ र पुरुष भएपछि कम बोल्नुपर्ने रहेछ, सबै कुरा व्यक्त गर्न हुँदैन रहेछ भन्ने कुरा सिक्छ,’ उनी भन्छन्, ‘उसले परिवारमा हजुरबुबा, बुवाबाट सिकेको कुरालाई लागु गर्न समाजले पनि उसलाई प्रोत्साहित गर्छ ।’

महिला संवेदनशील हुन्छन् र उनीहरू आफूलाई चाँडै व्यक्त गर्छन् । पुरुषहरू कठोर भएकै कारण आफूलाई व्यक्त नगरेको भनेको पनि हामी सुन्छौं । तर पुरुषलाई कठोर हुनको लागि विभिन्न कुराले प्रेरित गरेको हुने ठगुन्नाले बताए ।

‘परिवारका कुनै सदस्यको मृत्यु भयो भने पनि पुरुषले रुनु हुँदैन, अरूको अघि आँसु देखाउनु हुँदैन, उसले परिवारको अन्य सदस्यलाई सम्हाल्नुपर्छ भनेर समाजले उसलाई कठोर हुन सिकाउँछ । जसले गर्दा उसले आफ्ना संवेगहरूलाई कठोर हुन बाध्य पनि हुन्छन्,’ उनी भन्छन् ।

ठगुन्नाका अनुसार कुनै कुरामा सफल भएको, उपलब्धि हात पारेको कुरा महिलाको तुलनामा पुरुषहरू छिटो व्यक्त गर्छन् । तर कुनै कुरामा असफल भएर भावुक भइहाल्ने रोइहाल्ने भने गर्दैनन्, किनकि उनीहरूले सानैदेखि रोइहाल्न हुन्न भन्ने कुरा सिक्दै आएका हुन्छन् । जसले गर्दा उनीहरू हतपत आँखाबाट आँसु खसालिहाल्दैनन् ।

यसरी आफूलाई खुलेर व्यक्त नगर्दा पुरुषमा मानसिक विकार पैदा हुने जोखिम उच्च हुन्छ । संवेगहरूलाई लामो समय दबाएर राख्दा त्यसले रिस र तनावको रूप लिन सक्छ । जसले उनीहरूमा विभिन्न मानसिक तथा शारीरिक समस्या देखिन सक्ने ठगुन्ना बताउँछन् ।

‘पुरुषलाई समस्या पर्‍यो भने पनि उनीहरू त्यसलाई लुकाएर मलाई केही भएको छैन जस्तो देखाउँछन् । बाहिर केही भएको छैन भन्ने देखाएपनि भित्री पीडा त हटेको हुँदैन, जसले मन्द रूपमा स्वास्थ्यमा असर गरिरहेको हुन्छ,’ उनी भन्छन् ।

समग्र मानसिक स्वास्थ्यको जोखिम त पुरुषको तुलनामा महिलामा बढी हुन्छ । तर आत्महत्याको जोखिम भने महिलाको तुलनामा दुई गुणा बढी हुने ठगुन्ना बताउँछन् ।

मनको कुराहरू दबाएर राख्दा पुरुषमा ‘एन्टिसोसल पर्सनालिटी’ असामाजिक व्यक्तित्वको विकास हुने, बढी रिसाउने र अरूलाई दुःखमा देख्दा खुसी हुने जस्ता बानीको पनि विकास हुने ठगुन्ना बताउँछन् ।

आफ्ना भावनाहरूलाई लुकाएर राख्दा पुरुषमा मानसिक स्वास्थ्यको समस्या बढ्छ । असामाजिक व्यक्तित्वको विकास हुने, व्यक्तिसँगको सम्बन्ध बिग्रने, एन्जाइटी, डिप्रेसन र आत्महत्याको जोखिम समेत हुने ठगुन्ना बताउँछन् ।

के गर्ने  ?

– आफ्नो संवेगको अवस्थालाई व्यक्त गर्ने । तपाईंलाई कसैले फोन गर्‍यो तर तपाईंलाई बोल्न मन छैन भने फोन नउठाउनुको साटो फोन उठाएर मलाई अहिले तपाईंसँग बोल्न मन छैन पछि कुरा गर्छु भन्नुपर्छ ।

– ‘इमोस्नल जर्नल’ राख्ने । दिनभरि गरेको काममध्ये केमा खुसी भएँ र केमा दुःखी भएँ भनेर डायरी लेख्ने । यसरी लेख्दा बिस्तारै आफ्नो कुरा व्यक्त गर्ने बानीको विकास हुन्छ ।

– धेरै जनाको अघि बोल्न, आफ्नो कुरा व्यक्त गर्न मन लाग्दैन भने आफ्नो मन मिल्ने साथी वा परिवारको सदस्यलाई मनको कुरा खुलेर भन्ने । जसले गर्दा संवेगहरू दबाएर निम्तिने सक्ने मानसिक समस्यालाई कम गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology