झापा, ५ चैत । गृहकार्य नगरेको भन्दै विद्यार्थीमाथि निर्घात कुटपिटभएको छ । झापाको दमक नगरपालिका–३ मा गृहकार्य नगरेको आरोपमा कक्षा १ मा पढ्ने एक जना विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ ।
अक्सफोर्ड माविका एक छात्रले दुई वटा प्रश्नको उत्तर नलेखेको भन्दै शिक्षिका एलिना न्यौपानेले विद्यार्थीलाई निर्घात कुटपिट गरेको पीडित विद्यार्थीको परिवारले आरोप लगाएको छ । दमक ३ का वडाध्यक्ष नविन बरालले पनि कुटपिटको सूचना आएपछि आफूहरुले बुझ्ने प्रयास गरेपनि पीडित पक्ष वा विद्यालयबाट धेरै जानकारी प्राप्त नभएको बताउनुभयो ।
‘फेसबुकमा फोटोसहित विवरण आएपछि मैले पनि बुझ्न खोजेको थिएँ’, उहाँले भन्नुभयो, ‘तर, धेरै विवरण प्राप्त भएन ।’ शनिबार पीडित विद्यार्थीका आफन्त दुर्गा पौडेलले पीडित विद्यार्थीको फोटोसहित स्ट्याटस लेख्दै विद्यालय, शिक्षा र शिक्षिकालाई कारबाही गर्नुपर्ने बताएकी थिइन् । ‘यस्तो क्रियाकलाप हुने विद्यालयमा तपाईंको नानीबाबुलाई कसरी पढ्न पठाउने ? ’, उनले प्रश्न गरेकी छन्, ‘बिहान हाँस्दै रम्दै गएको बच्चा भरे खुट्टाका पिडुँलाभरि रगताम्य सुम्ला लिएर फर्किन्छ ।’
इलाका प्रहरी कार्यालय, दमकका डीएसपी मनोज लामाले घटना प्रहरीसम्म आइनपुगेको बताउनुभयो । ‘प्रहरीमा आएको भए के भएको रहेछ बुझ्थ्यौं, त्यतै मिलाएकाले थाहा नभएको हुनसक्छ’, उहाँले भन्नुभयो ।