त्रिशूली,४ चैत । एसईईमा ४ जीपीए ल्याउनेलाई गाउँपालिकाले ५० हजार नगदसहित सम्मान गर्ने भएको छ । नुवाकोटको म्यागङ गाउँपालिकाले चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएको हो ।
हालै बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको गाउँपालिकाको उपाध्यक्ष सीता तामाङले जानकारी दिनुभयो उहाँका अनुसार एसइईमा चार जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई ५० हजार र ३.६ देखि चारभन्दा कम जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई नगद २० हजारसहित सम्मान गर्ने निर्णय भएको छ ।
एसइईमा चार जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई ५० हजार र ३.६ देखि चारभन्दा कम जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई नगद २० हजारसहित सम्मान गर्ने निर्णय भएअनुसार कार्यविधि बनाएर कार्यान्वयन गर्न लागिएको शिक्षा शाखा प्रमुख शेरसिंह रावतले बताउनुभयो । उहाँका अनुसार यो व्यवस्था चालु शैक्षिकसत्रदेखि सुरु गर्न लागिएको हुँदा आवश्यक बजेटको सुनिश्चित भइसकेको छ भने कानुनी प्रक्रिया अन्तिम चरणमा पुर्याइएको छ ।
‘अहिले विद्यार्थी एसइईको तयारीमा लागिरहेकाले उनीहरुको मनोबल उच्च बनाउन नगद रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको हो’, शिक्षा शाखा प्रमुख रावतले भन्नुभयो, ‘यसअघिका परीक्षा र हालै भएको कक्षा १० को आन्तरिक परीक्षामा उत्कृष्टको नजिक–नजिकको अङ्क ल्याएकालाई थप लगनशील बनाउन गाउँपालिकाको सो निर्णयले थप ऊर्जा मिल्दछ ।’
विभिन्न छ वडा रहेको म्यागङ गाँउपालिकामा माध्यमिक तहसम्म अध्ययन गराउने विद्यालयको सङ्ख्या सात रहेको छ । ती विद्यालयमा चालु शैक्षिक सत्रमा एसइई दिने विद्यार्थीको सङ्ख्या तीनसय हाराहारीमा रहेको शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटले जनाएको छ ।