गोरखा, ३ चैत (रासस) : गोरखामा बन डढेलो नियन्त्रणका लागि पूर्वाअभ्यास गरिएको छ । डिभिजन बन कार्यालय गोरखाले जिल्लाको भीमसेन थापा गाउँपालिका–१, स्थित मण्डली सामुदायिक बन क्षेत्रमा डढेलो नियन्त्रणका लागि पूर्वअभ्यास गरेको कार्यालयका साहायक बन अधिकृत बालकुमार नेपालीले जानकारी दिनुभयो । गर्मीयाम बढेसंगै बन डढेलोको उच्च जोखिम रहने भएकाले डढेलोका कारण बनजंगल बिनास हुनबाट जोगाउन सचेतना फैलाउने उद्देस्य सहित पूर्वाअभ्यास गरिएको उहाँले बताउनुभयो ।
वनमा डढेलो नियन्त्रण गर्नका लागि फारलाइन सफा गर्ने, पातपतिङ्गर जम्मा गर्ने लगायतका पूर्वअभ्यास गरिएको नेपालीको भनाई छ । ‘बनमा आगो कसरी लाग्न सक्छ र कसरी नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने बारेमा सामुदायिक बनका उपभोक्तलाई जानकारी गराउन सके धेरै हदसम्म बन डढेलो नियन्त्रण गर्न सकिन्छ, उहाँले भन्नुभयो, ‘डढेलो लागेमा पनि कसरी सुरक्षित ढंगबाट नियन्त्रण सकिन्छ भनेर बुझाउनका डेमो देखाइएको हो ।’

पूर्वअभ्यासका क्रममा बन कार्यालयको फायर फाइटिङ्ग टोलीले अग्नि प्रतिरोधक जमसुट, वाटर स्प्रे, हेलमेट, स्वाटर प्रयोग गर्ने तरिका प्रस्तुत गरेका थिए । बनमा डढेलो लाग्न नदिन के गर्ने भन्ने बारेमा समेत नागरिकहरुलाई जानकारी प्रदान गरिएको नेपालीले बताउनुभयो । ‘डेमो देखाउदा फायर फाइटिङ्ग टिमबाट बारीमा पातपतिङ्गरमा आगो लगाएर त्यसको नियन्त्रण गरि नियन्त्रणको गर्ने तरिका सिकाइएको हो, उहाँले भन्नुभयो, ‘पूर्वअभ्यासकै क्रममा मण्डली सामुदायिक बनमा बन क्षेत्रमा लागेको डढेलो समेत फायर फाइटिङ्ग टोलीले नियन्त्रणमा लिएको थियो ।’कतिपय समयमा डढेलो निभाउने क्रममा आगो नियन्त्रक समेत आगोमा पर्ने तथा जल्ने खतरा रहेकाले डढेलो नियन्त्रण गर्दा ध्यान पु¥याउनु पर्ने कुराहरु समेत नागरिकहरुलाई जानकारी दिइएको नेपालीले बताउनुभयो । डढेलो नियन्त्रणमा लिने क्रममा कुन प्रकृतिको डढेलो हो, डढेलो लागि रहेको समयमा हावाको दिशा कता पट्टी छ भन्ने कुराको जानकारी लिनुपर्ने उहाँको भनाई छ । ‘हावा जुन दिशामा वहेको छ त्यही दिशाबाट डढेलो नियन्त्रण गर्नुपर्छ, उहाँले भन्नुभयो, ‘ डढेलो नियन्त्रणका लागि हावा वहेको बिपरित दिशाबाट जाँदा आगोले पोल्ने तथा आगोको ज्वालाले भेट्ने खतरा बढी हुने हुदाँ क्षति समेत हुनसक्छ ।’
उहाँले जिल्लाका अन्य सामुदायिक बनहरुमा पनि पूर्वअभ्यास गर्ने कार्यालयको योजना रहेको जानकारी दिनुभयो । फागुनदेखि जेठसम्मको मौसममा अत्याधिक डढेलो लाग्न सक्ने सम्भावना हुने साहायक बन अधिकृत नेपालीले बताउनुभयो । गोरखा जिल्लामा कुल ३ हजार ६ सय १४ दशमलव ७० बर्गकिलोमिटर बन क्षेत्र रहेको छ ।