गोरखा, २९ फागुन । गोरखा सदरमुकामा आज दिउँसो भएको मिनि ट्रक दुर्घटनामा परि मृत्यु हुनेको दुई पुगेको छ ।मृत्यु हुने दुबै जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपि अनुपम श्रेष्ठदे जानकारी दिनुभयो ।
मृत्यु हुने पुरुष सवारी धनी आरुघाटका गाउँपालिका वडा नं. ५ का उमेश श्रेष्ठ र दोलखा जिल्ला शैलुन गाँउपालिकाका वडा नं. २ घर भएका बर्ष ३२ को बिष्णु खड्काको उपचारको क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।
गोरखा बजारको पुरानो बसपार्कबाट हरमटारी तर्फ आउदै गरेको प्रदेश ३–०१–००३ क ६१७० नम्बरको मिनि ट्रक दिउसो १ः१५ बजे गोरखा नगरपालिका–६ को बिसौनी मोडमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका मध्ये ६ जनाको अवस्थामा गंभिर देखिए पछि गोरखा अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घाइते हुनेहरुमा गोरखा जिल्ला शहिदलखन गाउँपालिका ७ घर भई हाल गोरखा नगरपालिका ९ बस्ने बर्ष ३० की रमला राना मगर, शहिदलखन गाउँपालिकाका बर्ष ५९ को लालबहादुर गुरुङ, गोरखा नगरपालिका १० छेवेटार बस्ने बर्ष ४० की साबीत्री बि.क, बर्दिया जिल्ला स्थाई घर भएका बर्ष २८ को मंगल चौधरी र शहिद लखन गाँउपालिका वडा नंं ४ का बुद्दीबहादुर नेपाली रहेका छन् ।
उनिहरुको थप उपचारको लागी चितवनको भरतपुर मेडिकल कलेज लगिएको गोरखा प्रहरीले जनकारी दिएको छ । अर्का शहिदलखन गाउँपालिका ६८ बर्षका नारायण भुजेलको भने गोरखा अस्पतालमा नै उपचार भई रहेका छन् ।
मिनि ट्रक सडकबाट २० मिटर तल जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पुगेर अडकिएको छ । दुर्घटना के कारणले भएको भन्ने बारे अनुसन्धान सुरु गरिएको गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।