Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गाउँपालिकाको निर्देशनपछि त्रिशूली नदी थुनेर बाटो बनाउने काम रोकियो


1.1K
Shares

गाउँपालिकाको निर्देशनपछि त्रिशूली नदी थुनेर बाटो बनाउने काम रोकियो

गोरखा, २८ फागुन । गोरखाको शहीद लखन गाउँपालिकाले ठेकेदारलाई निर्देशन दिएपछि त्रिशूली नदी थुनेर बाटो बनाउने काम रोकिएको छ । नदीको बहाब नै परिवर्तन हुनेगरी बाटो बनाइएको समाचार सञ्चारमाध्यममा प्रकाशन भएपछि गाउँपालिकाले आज काम रोक्न निर्देशन दिएको हो ।

सिन्धुपाल्चोकको बलेफी—३ ठेगाना भएको त्रियुग निर्माण सेवाले यो गाउँपालिकाअन्तर्गत पर्ने त्रिशूली नदीको बगरको ढुंगा, बालुवा तार्न नदी नै थुनेर बाटो बनाइरहेको थियो। उसले आफूले ठेक्का पाएको ठाउँको नदीजन्य पदार्थ उत्खनन् गरेर चितवनतर्फ ल्याउनका लागि नदी नै बन्द गरेर बाटो बनाउँदै थियो ।

‘निर्माण सामग्री उत्खनन गरेर सप्लाईका लागि त्रिशूली नदीको बहाब अवरोध हुनेगरी बाटो निर्माण गर्न लागेको कार्य तत्काल रोक्न तथा उत्खनन्, संकलन तथा बिक्रीसम्बन्धी कार्य सम्झौताको अधिनमा रही गर्न कम्पनीलाई निर्देशन दिएका छौं,’ गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। उहाँले वातावरणीय अध्ययन प्रतिवेदन समेतलाई मध्यनजर गरी वातावरणलाई असर नपर्ने हिसाबले ६ हजार घनमिटरमात्रै ढुंगा, गिटी, बालुवा उत्खनन गर्न पाउने सम्झौता त्रियुग निर्माण सेवासँग भएको बताउनुभयो ।

त्रिशूली नदीमा भइरहेको कार्यको विषयमा सबैको चासो र चिन्ता देखिएपछि प्राविधिक टोलीसहितको थप स्थलगत अध्ययन गर्ने र सरोकारवालासँग आवश्यक छलफल गरी काम अघि बढाउने निष्कर्षमा गाउँपालिका पुगेको विज्ञप्तिमा उल्लेख छ । ‘यस क्षेत्रको वातावरणीय सन्तुलन, नदीको बाहव, सञ्चालित पेशा व्यवसाय जस्ता विषयमा प्रतिकूल प्रभाव पार्ने कुनै कार्य नगर्न, नगराउन तथा प्राकृतिक स्रोतको अनियन्त्रित दोहन रोक्न शहीद लखन गाउँपालिका प्रतिबद्ध छ,’ अध्यक्ष थापाले भन्नु भएको छ ।

चितवनको ईच्छाकामना गाउँपालिकाले पटक—पटक पत्र पठाउँदा पनि काम नरोकिएपछि जिल्ला समन्वय ईकाई चितवनले समन्वय ईकाई गोरखाको ध्यानाकर्षण गराएको थियो। त्यसअघि चितवनका प्रमुख जिल्ला अधिकारीले पनि गोरखाका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका थिए। आज सम्बन्धित ठाउँमा पुगी स्थलगत अवलोकन गरी अहिले काम रोकिएको चितवनका जिल्ला समन्वय अधिकारी चुडामणि शर्मा गौतमले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology