गोरखा, २७ फागुन । गोरखाको द्रब्यशाह बहुमुखी क्याम्पसको सभापति पदमा भने दुई जनाको उम्मेदवारी परेको छ । सभापति बाहेकअन्य सबै पदमा एकल उम्मेदवारी परेको निर्वाचन अधिकृत कृष्ण पराजुलीले जानकारी दिनुभयो ।
सभापतिमा सौनक घिमिरे र प्रमोदजंग कुँवरले उम्मेदवारी दिनु भएका छन् । घिमिरे चार विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्वीयु, नेपाल समाजवादी विद्यार्थी युनियनको साझा उम्मेदवार हुनुहुन्छ भने कुँवरले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो । विद्यार्थी संगठन र सम्बद्ध दलहरुबिच द्रब्यशाहमा नेपाल विद्यार्थी संघलाई सभापति पद दिने सहमती भएको थियो । नेविसंघले सौनक घिमिरेलाई सभापति बनाउने निर्णय गरेको थियो ।
द्रब्यशाह बहुमुखी क्याम्पसको नेविसंघ ईकाई उप सभापति रहेका प्रमोदजंग कुँवरले राजिनामा दिँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो । फागुन २९ गते सम्म उम्मेदवारी कायम रहे सभापति पदमा द्रब्यशाह बहुमुखी क्याम्पसमा निर्वाचन हुनेछ भने अन्य पदमा सर्वसम्मत हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै सचिवमा सचिन खनाल, कोषाध्यक्ष अबिन श्रेष्ठको उम्मेदवारी परेको छ ।
सदस्यहरुमा बिपना कोईराला, अनुप सिंम्खडा, प्रताप थापा मगर, नबिना गुरुङ, राजेश श्रेष्ठले उम्मेदवारी दिएका छन् । सदस्यहरुमा सन्दिपबाबु खत्री, सुमिना ज्ञवाली, सन्तोष बस्नेत, नैईया गुरुङ, असिम श्रेष्ठ, नम्रता थापा मगर, पवन गुरुङ रहेका छन् ।