Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी दर्ता


1.5K
Shares

उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी दर्ता

काठमाडौं, २७ फागुन । उपराष्ट्रपतिको निर्वाचनको लागि चार जनाको मनोनयन दर्ता भएको छ । शनिबार बानेश्वरस्थित संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा चार जनाको मनोनयन दर्ता भएको हो । चैत ३ गते हुने निर्वाचनको लागि निर्वाचन आयोगले शनिबार बिहान ९ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गर्ने समय दिएको थियो । सत्ता गठबन्धनकै मात्र तीन जनाले उम्मेदवारी दिएका छन्। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलको बैठकले तीन जनालाई नै उम्मेदवारी दर्ता गराउने निर्णय गरेको थियो ।

साझा उम्मेदवार कसलाई बनाउने निर्णय लिन नसकेपछि तीन जनाले दर्ता गराएका हुन् । जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै जनमत पार्टीकी सांसद ममता झाले पनि उम्मेदवारी दर्ता गराएकी हुन् । आइतबार फेरि सत्ता गठबन्धन दलहरूबीच बैठक बसेर साझा उम्मेदवार टुंगो लगाउने गठबन्धन दलहरूले निर्णय गरेका छन् ।

तर जनमत पार्टीका अध्यक्ष सिके राउतले भने आफूहरूको उम्मेदवारी फिर्ता नहुने बताएका छन्। यही कुरा गठबन्धनमा पनि राख्ने र जसपाले फिर्ता नलिए मित्रवत रूपमा प्रतिस्पर्धा हुने बताएका हुन् । यता प्रमुख प्रतिपक्षीको रूपमा रहेको नेकपा एमालेको तर्फबाट भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । यसरी सत्ता गठबन्धनको तर्फबाट तीन जना र नेकपा एमालेको तर्फबाट एक जना गरी जम्मा ४ जनाको उम्मेदवारी परेको हो । यस्तै गत बिहीबार भएको राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका थिए। उनले नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई पराजित गरेका थिए ।

पौडेललाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीको समर्थन थियो। अहिले यी दल सत्ता गठबन्धनमा छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology