Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित


1.6K
Shares

रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित

काठमाडौं, २५ फागुन। राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुनु भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित हुनु भएका हुन् । उहाँले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।

पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाउनु भएको हो ।

अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार प्राप्त गर्नुभयो। उहाँले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका निर्वाचन कार्यालय स्रोतले जनाएको छ । निर्वाचन कार्यालयले भने आधिकारिक नतिजा सार्वजनिक गर्न बाँकी छ ।

संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।

संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएका थिएनन् । नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका वर्षमान पुन उपचारका क्रममा मुलुक बाहिर रहेकाले मतदानमा सहभागी हुनु भएनन् ।

कांग्रेसबाट निर्वाचित भई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका टेकबहादुर गुरुङ निलम्बित अवस्थामा रहेकाले मतदान गर्न पाउनु भएन । मतदाता नामावलीमा नाम भए पनि फौजदारी मुद्दाका अभियुक्त एमालेका लक्ष्मी महतो कोइरी पनि राष्ट्रपति निर्वाचनमा मतदान गर्न आउनु भएनन् ।

प्रदेशसभाका ५५० सदस्यमध्ये ५१८ जनाले मात्र मतदान गरेका थिए । राप्रपाका २८, नेपाल मजदुर किसान पार्टीका ३ र जसपाका एक सांसदले मत दिएनन् ।

राष्ट्रपति निर्वाचनमा सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology