काठमाडौं, १९ फागुन । आजबाट सिनेमा हलमा दुई नेपाली ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ एकसाथ प्रदर्शनमा आएका छन् । दीपकराज गिरीसहित दीपाश्री निरौला र केदार घिमिरे समूहको चलचित्र ‘छक्का पञ्जा ४’ लाई हेमराज बिसीले निर्देशन गरेका हुन् । राजनीतिलाई पृष्ठभूमि बनाएर यो चलचित्र तयार पारिएको छ। यसको पटकथा तथा संवाद अभिनेता गिरीले तयार पारेका छन् ।
हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहेको छ। चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् । ‘छड्के’ को सिक्वेल ‘२।० छड्के’ ग्याङस्टर श्रेणीको चलचित्र हो । प्राकृतिक स्रोत हत्याउन सङ्घर्ष गर्ने तीन ग्याङको कथा चलचित्रमा देखाइएको छ। ग्रीन ग्याङको नाइकेको रूपमा अभिनेता अनमोल केसी देखिएका छन् ।
निगम श्रेष्ठको लेखन तथा निर्देशनमा रहेको चलचित्रमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारको अभिनय छ । काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । मल्टिप्लेक्स हलमा ुछड्केु भन्दा ुछक्का पन्जा ४ ले बढी शो पाएको छ ।
दीपक र दीपाको फिल्म छक्का पन्जा सिरिज बक्स अफिसमा धेरै कमाइ गर्ने फिल्म हो। यसैवर्ष छक्का पन्जा ३ को रेकर्ड तोड्दै कबड्डी ४ धेरै कमाइ गर्ने नेपाली फिल्म बनेको छ । दीपकलाई फिल्मले राम्रो कमाइ गर्नपर्ने चुनौती देखिन्छ । अनमोल केसी युवापुस्तामाझ रूचाइएका अभिनेता हुन् । उनका अधिकांश फिल्म बक्स अफिसमा हिट भएका छन् । होस्टलबाट डेब्यू गरेका उनले अहिलेसम्म एक फ्लप फिल्म दिएका छैनन् । अनमोलकै कारण यो फिल्म चल्ने फिल्मकर्मीको आशा छ । हलमा कुन फिल्मले राम्रो कमाइ गर्छ त्यो हेर्न बाँकी छ ।