गोरखा, १२ फागुन । जिल्लामै पहिलो पटक गोरखाको गण्डकी गाउँपालिकाले इन्टरनेटबाट घरमै बसेर कर तिर्न मिल्ने व्यवस्था गरेको छ । अब गाउँपालिकाबासीले घरमै बसेर इन्टरनेटबाट कर तिर्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण करहरु नागरिकहरुले इसेवा, खल्ती, प्रभुपे र कनेक्ट आईपिएस जस्ता डिजिटल भुक्तानी सेवाप्रादायक मार्फत भुक्तानी गर्न सकिने भएको छ । जिल्लाका ११ वटा पालिका मध्ये यो सेवा सुरु गर्ने गण्डकी गाउँपालिका पहिलो भएको प्रमुख प्रशासकीय अधिकृत उपरकोटीले बताउनुभयो । गाउँपालिकाले उपलब्ध गराएको कर आईडि प्रयोग गरेर डिजिटल भुक्तानी सेवाप्रादायकको एपबाट नागरिकहरुले आफ्नो तिर्न बाँकी रहेको कर रकम हेर्न सकिनेछ ।
साथै बाँकी रहेको कर रकम घरै बसेर इन्टरनेटबाटै सजिलै भुक्तानी गर्न सकिने भएको छ । यस्तै भुक्तानी पश्चात सोही एपबाट रकम तिरेको रसिद समेत पाईने बताएको छ । यो पालिका बाहेक गोरखाको अन्य स्थानिय तहले डिजिटल अनलाइन माध्यम मार्फत भुक्तानी गर्न सकिने प्रविधि सञ्चालन गरेका छैनन् ।
यसैगरी गाउँपालिकाले ५० प्रतिशत छुटमा व्यवसाय दर्ता तथा घरजग्गा अभिलेखिकरण शिविर सुरु गरेको छ । शिविर १ महिनासम्म चल्नेछ भने छुटको व्यवस्था २०८० को असार मसान्त सम्म रहने गाउँपालिकाले जानकारी दिएको छ ।