Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

दुई महिनापछि खुले मुस्ताङका सामुदायिक विद्यालयहरु


1.8K
Shares

दुई महिनापछि खुले मुस्ताङका सामुदायिक विद्यालयहरु

जोमसोम,१० फागुन । जोमसोम मुस्ताङका विद्यालय फागुनदेखि खुलेका छन्। बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका विद्यालय दुई महिना लामो हिउँदे बिदापछि पठनरपाठन संञ्चालन गरिएको हो । हिउँदयाममा मुस्ताङका विद्यालयलाई दुई महिना बिदा दिने गरिन्छ। उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गत विद्यालय भने हिउँदयाममा साविक स्थान छोडेर पोखरामा घुम्ति कक्षा संञ्चालन गरी पठनरपाठन नियमित राख्छन्। हिउँदयामको पुस र माघ महिनामा हिमपात र अत्यधिक चिसो हुँने भएकाले विद्यार्थीलाई लामो हिउँदे बिदा दिने चलन छ ।

मुस्ताङमा ३४ सामुदायिक विद्यालय र केही गुम्बा विद्यालय छन् । जसमध्ये घरपझाङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका २४ वटा विद्यालय मध्ये २२ वटा सामुदायिक विद्यालयको शैक्षिक पठन पाठन दुई महिनापछि सुरु गरिएको हो । बारागुङ मुक्तिक्षेत्रको जननर्मल माध्यमिक छुसाङ र लुप्रा आधारभुत लुप्रा भने घुम्ति कक्षाका लागि पोखरामा रहेको गाउँपालिकाकी प्राविधिक सहायक रेखा पन्तले बताइन्। ३ स्थानीय तहका १२ सामुदायिक विद्यालय घुम्तिका लागि पोखरामा छन् ।

मुस्ताङको थासाङ गाउँपालिकामा फागुन १ गते शैक्षिक पठन पाठन सुरु गरिएको छ। बारागुङ मुक्तिक्षेत्रमा फागुन ८ गते र घरपझोङ गाउँपालिकामा फागुन १० गते देखि शैक्षिक पठन पाठन संञ्चालनमा आएको शिक्षा विकास तथा समन्वय ईकाईका सूचना अधिकारी चन्द्रसिंह विकले जानकारी दिए। उनका अनुसार त्यसबाहेक जाडो छल्न बेसी झरेका घुम्ती विद्यालय भने वैशाख महिनामा साविककै स्थानमा शैक्षिक पठन पाठन सञ्चालन हुँनेछ ।

मुस्ताङमा हिउँदे बिदा दिईएका विद्यालयले चालु आर्थिक वर्षको शैक्षिक सत्रको परीक्षा विद्यालय बन्द हुनु अगावै सकेका थिए । हिउँदे बिदापछि उनीहरुले नयाँ शैक्षिक सत्रको पठन पाठनको तयारी भईरहेको र नयाँ भर्ना अभियान सुरु गरिएको घरपझोङ गाउँपालिकाका शिक्षा शाखा अधिकृत हिमलाल शर्माले जानकारी दिए। मुस्ताङका सामुदायिक विद्यालयमा ३ हजार ८७५ जना विद्यार्थी छन् ।

मुस्ताङमा दुई महिना लामो हिउँदे बिदाका लागि ४५ दिन वार्षिक बिदा र १५ दिन सट्टा बिदा गरी कुल ६० दिन विद्यालयको शैक्षिक पठन पाठन स्थगित गरिने गरिन्छ । हिउँदयाममा मुस्ताङका अधिकांश बुद्धिष्ट गुम्बा विद्यालयपनि जाडो छल्न बेसीमा छन्। घुम्तीमा झरेका घुम्ती गुम्बा विद्यालय पनि वैशाख लागेपछि साविककै स्थानमा पठनरपाठन सुरु गरिने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology