गोरखा, १० फागुन । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) ले शिक्षा क्षेत्रका लागि अहिले बिनियोजन हुँदै आएको बजेट पर्याप्त नभएको बताउनु भएको छ । गोरखा सदरमकाममा एकिकृत अखिल नेपाल शिक्षक संगठन गोरखाको सातौ जिल्ला अधिबेशनलाई आज सम्बोधन गर्नुहुदैँ उहाँले शिक्षा क्षेत्रको बिकासका लागि बजेट पर्याप्त नभएको बताउनु भएको हो ।
‘शिक्षालाई बिकास र सम्बृद्धिको मुख्य कडी मान्ने तर शिक्षा क्षेत्रमा लगानी बढाउन तयार नहुने यो अन्तरबिरोधलाई कायम राखेर हाम्रो सम्बृद्धिको लक्ष्य पुरा हुन सक्दैन, उप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘बरु रेल बनाउने कार्य केही समय रोके हुन्छ तर मुख्य जग शिक्षालाई उन्नत बनाउन एकिकृत योजना चाहिन्छ, त्यसका निम्ति साधन स्रोतको पनि व्यवस्था गर्नुपर्छ ।’उहाँले अहिलेको लागनी असाध्यै अपूर्ण रहेको भन्दै शिक्षामा लगानी गर्न कन्जुस्याई गरे देश बन्न नसक्ने बताउनुभयो ।
‘सामुदायिक बिधालयलाई उत्कृष्ट बनाउन सकेमात्र शिक्षा क्षेत्रलाई समाजबादको दिशामा अगाडी बढाउन सकिन्छ, उप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘देश रुपान्तरणमा शिक्षा क्षेत्रको बिकास महत्वपूर्ण पाटो हो ।’उहाँले विदेशिएका युवाहरुलाई स्वदेश फर्काउनका लागि सम्बृद्ध नेपाल निर्माण गर्नसक्नु पर्ने बताउनुभयो । शिक्षा क्षेत्रको बिकासका लागि शिक्षकहरुलाई प्रविधिमैत्री बनाउदै उनिहरुको क्षमता बिकासमा जोडदिनुपर्ने आबश्यकता रहेको उपप्रधानमन्त्री श्रेष्ठले औल्याउनुभयो ।उप्रधानमन्त्री श्रेष्ठले शिक्षकहरुले नेपालको राजनीति परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रंससा समेत गर्नुभयो ।
उहाँले अहिलेको मुख्य काम सामाजिक न्याय सहितको सम्बृद्धि भएको भन्दै सम्बृद्धिको लक्ष्य प्राप्तिका लागि शिक्षा क्षेत्रको आमूल परिवर्तन पहिलो आबश्यकता रहेको बताउनुभयो ।‘भोली तपाईहरुले शिक्षा क्षेत्रको आफ्नो भूमिका छोडेर समाजको अरु भूमिका जाँदा क्रान्तिकारी आन्दोलन इतिहास तथा योगदानलाई बिर्सन मिल्दैन, उहाँले भन्नुभयो, ‘तर अहिले संक्रिय राजनीतिक नेताभन्दा मुख्य भूमिका चाही शिक्षा क्षेत्रको आमूल परिवर्तन गर्ने नेता हुनु जरुरी छ ।’ रासस