Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड


1.4K
Shares

भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,७ फागुन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेका तीन कार्यदलका प्रमुखहरूसहित मन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार छलफल गरेका छन् । मन्त्रालयले जनताको दैनिक जीवनसँग जोडिएका प्रश्नहरूलाई सम्बोधन गर्न विज्ञ सम्मिलित कार्यदल बनाएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार विकास प्रणाली सुधार कार्यदल, पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समग्र यातायातमा सुधार अध्ययन कार्यदल र राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा सुशासन सुधार सुझाव कार्यदल बनाएर काम गरेकोमा प्रधानमन्त्री प्रचण्डले प्रशंसागर्नुभएको छ ।

सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकोमा खुसी लागेको प्रधानमन्त्रीको भनाइ थियो । विकासको विस्तार, सुधार र प्रशासनको चुस्ततामा सरकारले जोड दिएको र त्यसले छिटोभन्दा छिटो सकारात्मक परिणाम दिने विश्वास प्रधानमन्त्रीको छ । ‘पहिलो त विकासप्रतिको बुझाइमै ठीक दृष्टिकोण बनाउन जरूरी छ। त्यसका लागि ऐन–कानुनको संशोधनमा समेत सरकारको जोड रहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

देशलाई विकास र समृद्धिको दिशामा लैजाने राज्यका सबै अंग र तहहरूको समन्वयात्मक भूमिका र संकल्प हुनुपर्ने उहाँले बताउनुभयो । ‘वर्तमान सरकार देशका सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढिरहेको छ। तसर्थ, विकास र समृद्धिको लक्ष्य हासिल गर्न समन्वयात्मक भूमिका र संकल्पका अघि बढौँ,’ उहाँले भन्नभयो ।

उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले जनतालाई तत्काल र दीर्घकालीन राहत दिँदै सामाजिक न्यायसहित विकासमा गुणात्मक फड्को मार्ने, समाजवादउन्मुख समृद्धि निर्माण गर्ने प्रधानमन्त्रीको लक्ष्यमा एकाकार भएर भौतिक पूर्वाधार एवं यातायातका क्षेत्रमा कयौं सुधारहरू थालिएको बताए। त्यसका लागि कयौं ऐन कानुनको परिमार्जनको आवश्यकतासमेत उहाँले औंल्याउनुभयो ।

पूर्वाधार विकास प्रणाली सुधार कार्यदलका संयोजक सूर्यराज आचार्य र यातायात सुधार कार्यदलका संयोजक शरदचन्द्र पौडेलले कार्यदलले कुन प्राथमिकतामा जोड दिन खोजेको छ भन्नेबारे प्रधानमन्त्री प्रचण्डलाई ‘ब्रिफिङ’ गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology