गोरखा , ६ फागुन । गोरखा सदरमुकाम क्षेत्रमा गएराती एक बैंक सहित झण्डै आधा दर्जन घरमा चोरी भएको छ । सदरमुकाम स्थित बसपार्क नजिकै रहेको नविन बैंक लिमिटेडमा चोरीको प्रयास भएपनि बैंकको लकर फुटाउन नसक्दा रकम चोरी भने नभएको पाइएको प्रहरीले जनाएको छ । त्यस्तै राती नै बसपार्क नजिकै रहेको होटल प्याराडाइज, अर्याल मेडिकल, र एक कस्मेटिक पसलमा चोरी भएको प्रहरीको भनाई छ । राती करिब १२ बजेदेखि मध्यराती साढे २ बजेको अबधीमा चोरी भएको पाइएको छ ।

बैंकमा रकम झिक्न नसकेपनि अन्य घरबाट भने केही रकम चोरीको पुष्टी भएपनि कति रकम चोरी भयो भन्ने एकिन हुन बाँकी छ । चोरीमा संलग्न व्यक्ति मास्क लगाएको र अनुहार चिन्न नसक्ने गरी सवै घरको पछाडीको भागबाट घर भित्र प्रवेश गरेको देखिएको छ ।
जिल्ला प्रहरी कार्यालयको टोली बिहानै घटनास्थलमा पुगेर घटनाको थप अनुसन्धान सुरु गरेको छ । यसअघि पालुङटार नगरपालिकामा पनि एकैरातमा एकदर्जन भन्दा बढी घरमा सोही प्रकृतिको चोरी भएको थियो ।