विराटनगर, ५ फागुन । घरको छतवाट खसेर एक वृद्धको मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका–६ जनपथ चोकमा घरको छतबाट खसेर शुक्रबार बिहान एक जना वृद्ध पुरुषको मृत्यु भएको हो ।
छतबाट खसेर ८७ वर्षीय भीमबहादुर महराको मृत्यु भएको हो । आफ्नै २ तले घरको छतमा घाम तापेर कुर्सीमा बसिरहेका बेला बिहान १० बजेतिर अचानक खसेका महराको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शव पोस्टमार्टमका लागि उर्लाबारीकै मंगलबारे अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीले थप अनुसन्धान गरिरहेको कार्कीले बताउनुभयो।