गोरखा, ३ फागुन । सडक सञ्जालले नछोएको भनिएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पहिलो पटक सवारी साधन पुगेको छ ।
नेपाली सेनाले सडक निर्माण गरेको बेनिघाट, आरुघाट, लार्के सडकअन्तर्गत दोभानदेखि जगतबगरसम्म आज (बुधबार) पहिलो पटक सवारी साधन पु¥याइएको हो । नेपाली सेना र स्थानीयबासीको उपस्थितिमा एकै पटक उक्त स्थानमा ४ वटा ट्रक र ४ वटा जिप पुगेको स्थानिय विशाल घलेले जानकारी दिनुभयो ।
घलेका अनुसार विकट दुर्गममा पहिलो पल्ट गाडी पुगेको ऐतिहासिक दिन भन्दै स्थानिय खुशी भएका छन् । आज सवारी साधान पुगेको स्थानसम्म पुग्न बिगतमा गोरखा सदरमुकामबाट ३ दिनको पैदल यात्रा गरेर मात्र पुग्न सकिन्थ्यो । अब भने सदरमुकामबाट सवारी साधनमा ३ देखी ४ घण्टामा सहजै पुग्न सकिने भएको छ ।
सडक विभागले निर्माण गरिरहेको सो सडक गत २०७४ सालदेखि नेपाली सेनाले निर्माणको जिम्मा लिएको थियो । त्यसयता झण्डै ४० किलोमिटर सडकको ट्रयाक निर्माण भइसकेको छ । तर सवारी साधन भने करिब १८ किलोमिटरसम्म चल्ने भएको छ ।
हावाडाँडादेखि दोभानसम्म यसअघिदेखि नै सवारी साधन चल्ने गरेको थियो । गोरखाको ११ पालिकामध्ये १० पालिकामा यसअघि सडक सञ्जाल पु¥याइएकोमा बाँकी एक मात्र चुमनुब्रीमा पनि आज सवारी साधन पु¥याइएको हो ।
उक्त स्थानबाट उत्तरी गोरखाको सामागाउँ पुग्न २ देखी ३ दिन र छेकम्पार पुग्न १ देखी २ दिन लाग्ने घलेले बताउनुभयो । पहिला सो क्षेत्रमा पुग्न ५ देखी ७ दिनसम्मको पैदल यात्रा तय गनुपर्ने बाध्यता रहेको थियो । स्थानियले सडक निर्माण आयोजनाको जिम्मा लिएको नेपाली सेनालाई पनि धन्यबाद दिएका छन् ।