Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको चुम उपत्यकामा अहिंसा शताब्दी महोत्सवको तयार


847
Shares

गोरखाको चुम उपत्यकामा अहिंसा शताब्दी महोत्सवको तयार

गोरखा, १ फागुन । अहिंसा क्षेत्र घोषणा भएको १०० वर्ष पुगेको अवसरमा गोरखाको चुम उपत्यकामा अहिंसा शताब्दी महोत्सव तयारी गरिएको छ । २०८० को वैशाख ६ गतेदेखि ९ गतेसम्म चुमनुब्री गाउँपालिका–७ छेकम्पारको राजेन गुम्बामा शताब्दी श्याग्या (अहिंसा) महोत्सव आयोजना गरिएको छ । १९७७ सालको वुद्धजयन्तीमा अवतारी लामा डुक्पा लामा सेराप दोर्जेले आफ्नो तपोभूमि चुम उपत्यकाका बासिन्दालाई अहिंसा सिद्धान्तको पालना गर्ने सामूहिक प्रतिवद्धता गराएका थिए । त्यतिबेलादेखि उत्तरी चुम उपत्यका अहिंसा क्षेत्रको रुपमा निरन्तर कायम छ । अहिंसा क्षेत्र घोषणा भएको २०७७ सालमा नै १०० वर्ष पूरा भइसकेको छ ।

तर कोराना महामारीका कारण पर्यटकहरु पुग्न कठिनाइ हुने भएकाले अनुकुल समय पर्खिँदा पर्खिदा २०८० को वैशाखमा गर्न लागिएको हो । श्याग्या शताब्दी महोत्सव मूल आयोजक समितिका अध्यक्ष निमा लामाले अहिंसा क्षेत्रको चिनारी, निरन्तरता, प्रचार प्रसार र जैविक विविधता संरक्षणमा योगदान पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । ‘यस महोत्सवले हामी सम्पूर्ण चुमबासीहरुको सामाजिक साँस्कृतिक एकतालाई थप मजबुत बनाउनुका साथै प्राकृतिक तथा संस्कृति संरक्षणमा हामीहरुको सामूहिक प्रतिवद्धतालाई अझ बलियो बनाउने कुरामा हामी विश्वस्त छौं’ अध्यक्ष लामाले भन्नुभयो ।

वैशाख ६ गते सुरु हुने शताब्दी श्याग्या महोत्सव प्रधानमन्त्री पुष्प कमल दहाल (प्रचण्ड)ले उद्घाटन गर्ने तय भएको छ । पहिलो दिन उद्घाटन, प्रकृति पूजा, शान्ति दीप प्रज्वलन, अहिंसा क्षेत्र निरन्तरताका लागि प्रधानमन्त्रीले हस्ताक्षरमार्फत प्रतिवद्धता जनाउने कार्यक्रम छ । ७ गते शान्तिको पदयात्रा, धर्म गुरुबाट क्षमापूजा, वुद्धका प्रवचन र साँस्कृतिक कार्यक्रम हुनेछन् । महोत्सवका अवसरमा यहाँ सकेसम्म धेरै वृक्षरोपण गर्ने आयोजक समितिले जनाएको छ । ८ गते अहिंसा क्षेत्र संरक्षणका लागि युवाहरुको छलफल गोष्ठी आयोजना गरिएको छ । महोत्सवमा परम्परागत खेलकुदको प्रतियोगिता घोडेजात्रा कार्यक्रम पनि राखिएको छ ।

चीनसँग सीमा जोडिएको गोरखाको साविकका छेकम्पार र चुम्चेत गाविस (हाल चुमनुब्री गाउँपालिका ७ र ६) चुम उपत्यकाका रुपमा संसारभर प्रख्यात छ । सो क्षेत्रका वासिन्दाले १०० वर्षभन्दा पहिलेदेखि हिंंसा नगर्ने नीतिलाई निरन्तरता दिइरहेका छन् । उनीहरुले जनावरको काटमार नगर्ने, शिकार नखेल्ने, मह नकाड्ने, डढेलो नलगाउने प्रतिवद्धता जनाएका छन् । त्यस्तै काम दिन नसक्ने गरी बुढो भएको जनावरलाई नमार्ने वा मासु खाने व्यक्तिलाई नबेच्ने र चौंरीको बाच्छा नमार्ने प्रतिवद्धता जनाएका छन् ।

यस गाउँको प्रहरी चौकीमा बस्ने प्रहरीहरुले समेत काटमार गर्दैनन् । चुमभ्याली घुम्न जाने विदेशी पर्यटकले पनि मासु खाँदैनन्, यहाँका सबै होटलहरु शाकाहारी छन् । काठमाडौंमा आनज आयोजित पत्रकार सम्मेलनमा शताब्दी श्याग्या महोत्सव आयोजक समितिका अध्यक्ष लामाले कुनै निश्चित भूगोल नै अहिंसा क्षेत्र तोकिएको अन्यत्र थाहा नपाएको बताउनुभयो । चुम महोत्सव आयोजनाका लागि १ करोड २६ लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

पर्यटक आउजाउ गरिरहने क्षेत्र भएकाले यहाँ होटलहरुको राम्रो सुविधा छ । महोत्सवमा धेरै सहभागी भएर होटलमा बास नपुगे स्थानीयको घरमा बसोबास गराउने आयोजकको योजना छ । चुम उपत्यकामा हरेक वर्ष करिब १५ सय विदेशी पर्यटक पुग्छन् । नेपाली पर्यटक पनि पछिल्लो समय बढ्दै गएका छन्, तर स्वदेशी पर्यटकको तथ्यांक राखिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology