गोरखा,२८ माघ । गोरखाका एक ब्यक्ति सहित खाग तस्करीमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ संरक्षित वन्यजन्तु गैंडाको खाग ओसारपसार तथा खरिद बिक्री गर्ने गोरखाका दानबहादुर राना सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पालुङटार नगरपालिका–२ ठाँटीपोखरी बस्ने ४७ वर्षीय दानबहादुर राना भएको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले जानकारी दिएको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–७ सरस्वतीनगर टोलबाट गत पुस १९ गते झापा भद्रपुर नगरपालिका–१० बस्ने ४५ वर्षीय ईन्द्रमणी आचार्य र बाँके कोहलपुर नगरपालिका–११ बस्ने ४१ वर्षीया जमुना कुमारी शर्मालाई संरक्षित वन्यजन्तु गैंडाको खाग ५२२ ग्राम सहित केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुबाट थप अनुसन्धानको क्रममा उक्त कारोबारमा संलग्न रहेका पाल्पा भुवनपोखरीका ६२ वर्षीय बाबुलाल भट्टराई, कैलाली घोडाघोडी नगरपालिका–१० पहलमानपुरका ३६ वर्षीय प्रताप चौधरी, कैलाली मसुरियाका ६१ वर्षीय गणेश भनिने गजाधर सापकोटा, भोजपुर अरुण गाउँपालिका–२ घर भएका ४५ वर्षीय डम्बर कुमार आले मगर, स्याङ्जा पुतलीबजार नगरपालिका–१ का ४६ वर्षीय निर्मल शाही, स्याङजा वालिङ नगरपालिका–८ जैसीपधेँराका ३८ वर्षीया हरिमाया राना, चितवन भरतपुर महानगरपालिका–८ की ४० वर्षीया सम्झना चेपाङ भन्ने कमला तामाङ, चितवन कालिका नगरपालिका–९ शेरबास बस्ने ३९ वर्षीय राजु भन्ने सोमबहादुर चेपाङ तथा ३० वर्षीय राधाकृष्ण चेपाङ, चितवन इच्छाकामना गाउँपालिका–७ पदमपुरकी ३० वर्षीया तुलसी चेपाङ, सोही गाउँपालिका–७ सुन्दरबस्तीका ३९ वर्षीय बिरमान वाइबा र चितवन भरतपुर महानगरपालिका–८ गौरीगंज सल्यानी बस्ने ५२ वर्षीय आइतबहादुर तामाङ समेतलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले विभिन्न मिति र स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौंमा पठाइएको ब्यूरोले जानकारी दिएको छ ।