ओखलढुंगा, २५ माघ । ओखलढुंगा जिल्ला अदालतले बोक्सीको आरोप लगाउनेलाई कैद सजायको फैसला गरेको हो । जिल्लाको मोलुङ गाउँपालिका–१ की ६४ वर्षीया एक वृद्धालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा सोही स्थानका दुई जनाविरूद्ध कैद सजायको फैसला भएको हो ।
बोक्सीको आरोप लगाई वृद्धालाई आगोले पोल्ने ५० वर्षीय दीपक विश्वकर्मा र २७ वर्षीया मुना विश्वकर्माविरूद्ध अदालतले कैद र जरिवानाको फैसला गरेको हो । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले दीपकलाई पाँच वर्ष कैदसहित ६० हजार रूपैयाँ जरिवाना र मुनालाई पाँच वर्ष कैदसहित ५० हजार रूपैयाँ जरिवानाको फैसला गरेको छ ।
सोही घटनामा संलग्न एक १७ वर्षीया किशोरीको हकमा उनका अभिभावक झिकाई वास्तविक अवस्था बुझी बाँकी कारबाहीको प्रक्रिया अगाडि बढाउने अदालतले जनाएको छ । पीडितलाई नगद ६० हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसलासमेत भएको छ ।
दीपकले ३० हजार, मुनाले १५ हजार र बाँकी १५ हजार स्थानीय तहले पीडित महिलालाई दिनुपर्ने अदालतबाट फैसला भएको ओखलढुंगा जिल्ला अदालतका स्रेस्तेदार नवीन खनालले बताउनुभयो ।
बोक्सीको आरोप कसुर र सजाय ऐन, २०७२ को दफा ९१२० २ मा उल्लेख भएको व्यवस्थाअनुसार सम्बन्धित स्थानीय तहले १५ हजार रूपैयाँ बेहोर्नुपर्ने फैसला भएको स्रेस्तेदार खनालको भनाइ छ।
२०७५ वैशाख ८ गते दीपक, मुना र एक किशोरीले बोक्सीको आरोप लगाई वृद्धालाई कुटपिट गर्दै आगोले पोलेका थिए। पीडित वृद्धाले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामार्फत न्यायका लागि चार वर्षअघि जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी थिइन्।
जिल्ला न्यायाधीश आचार्यको इजलासले बोक्सीको आरोप ९कसुर र सजाय० ऐन, २०७२ को दफा ९३० १ ९छ० बमोजिम कसुर ठहर गर्दै अदालतले सजाय तोकेको हो। जिल्लामा बोक्सी आरोपका थुप्रै घटना मिलापत्रमा टुंग्याउने गरिए पनि अदालतमा पुगेको यो मुद्दा भने पीडितकै मागदाबीअनुसार फैसला भएको छ।