Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

गाउँपालिकाले तरकारी ढुवानी गर्न कृषि एम्बुलेन्स सञ्चालन गर्ने


2K
Shares

गाउँपालिकाले तरकारी ढुवानी गर्न कृषि एम्बुलेन्स सञ्चालन गर्ने

भक्तपुर, २४ माघ । कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । यसका लागि सङ्घीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ ।

पालिकाभित्र पर्ने पहाडी क्षेत्रका किसानलक्षित कृषि एम्बुलेन्स खरिद गर्न लागेको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । घुम्ती सेवामार्फत कृषि उत्पादन किसानका घर–घरबाट बजारसम्म ल्याइने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नं १, २ र ७ का किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनको सहज ढुवानीका लागि तीनवटा कृषि एम्बुलेन्स खरिद गर्ने तयारी गरिएको हो । ‘किसानले उत्पादन गरेका कृषि उपजलाई बजारसम्म लैजान सहज होस् भन्ने उद्देश्यले कृषि एम्बुलेन्स खरिद गर्न खोजेका हौँ’, उहाँले भन्नुभयो। अहिले पनि इच्छाकामनाको पहाडी क्षेत्रका बासिन्दाले निकै कष्टका साथ कृषिजन्य उत्पादन बजार पुर्‍याउनुपर्ने बाध्यता छ ।

तत्कालका लागि तीनवटा एम्बुलेन्स खरिद गर्ने तयारीमा रहेको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार सङ्घीय सरकारले ४० लाख रुपैयाँ बजेट व्यवस्थापन गरिदिएको छ भने त्यसमा पालिका र कृषि समूह तथा सहकारीको सहकार्यमा आधा–आधा रकमको व्यवस्थापन हुनेछ । ‘सङ्घीय सरकारसँगै पालिकाले २५ प्रतिशत र कृषि समूह तथा सहकारीको २५ प्रतिशत रकम व्यवस्थापन गरेर कृषि एम्बुलेन्स खरिद गर्ने योजना हो’, उहाँले भन्नुभयो ।

गाउँपालिकाले तीनवटा एम्बुलेन्स खरिदका लागि करिब ८५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । ‘विशेषगरी वडा नं १ को भाराङ, हात्तीवाङ, वडा नं २ को मायाटार, वल्र्याङ र वडा नं ७ को दाहाखानीलगायतका क्षेत्रलक्षित गरी साधन खरिद गर्न लागेको हो’, अध्यक्ष गुरूङले भन्नुभयो । कृषि एम्बुलेन्सको प्रयोगबाट भौगोलिक विकटताका कारण किसानले उत्पादन गरेका तरकारी तथा फलफूलले उचित बजार नपाउँदा बारीमै फाल्नुपर्ने अवस्थाको अन्त्य हुने गाउँपालिकाको भनाइ छ ।

इच्छाकामना गाउँपालिकाभित्र सुन्तला उत्पादन राम्रो हुन्छ । यस्तै काँक्रो, गोलभेँडा, फर्सी, बन्दा, काउली, भेडे खुर्सानी, अदुवा, रायो, आलु, करेला, घिरौँला, मुला, स्कुस, लौका, धनियाँ, पालुङ्गोलगायतका तरकारी उत्पादन हुने गरेको छ । गाउँमा उत्पादन भएका फलफूल र तरकारी राजमार्गमा रहेका चुम्लिङटार, कुरिनटार र मुग्लिनमा ल्याएर बेच्ने गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology