गुल्मी,२१ माघ । भारतीय नागरिकको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले हत्या अभियोगमा उनिहरुलाई पक्राउ गरेको हो । भारतको सुगौली पूर्वी चम्पानगर ८ का ४४ वर्षीय शेख अताहुसेइको हत्या गरेको आरोपमा जिल्लाको सत्यवती गाउँपालिका– १ का ५६ वर्षीय छविलाल अधिकारी र श्रीमती ४८ वर्षीया विष्णु अधिकारीलाई गुल्मी प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अधिकारी दम्पतीले गत माघ १२ गते शेखको हत्या गरेर खोलामा फालेका थिए । शेखले मदिरा सेवन गरेर छविलालकी श्रीमतीलाई यौनजन्य क्रियाकलाप गरेपछि हथौडा प्रहार गरी हत्या गरेर दम्पती मिलेर बोरामा राखेर घर नजिकैको पुलबाट कालिगण्डकी नदीमा फालेको प्रहरीसमक्ष स्विकार गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।
माघ १९ गते क्षेत्र २ को ढोडेनी बगरमा उत्तानो परेको अवस्थामा शव फेला परेको खबर पाएपछि अनुसन्धानबाट अभियुक्त फेला परेका रानाभाटाले बताउनुभयो ।
त्यस्तै वामी घटनाको पनि विभिन्न किसिमबाट अनुसन्धान भइरहेकाले केहिदिनमै नतिजा प्राप्त हुने गुल्मी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवराज खरेल सहितको टोलीले घटना भएको दिनदेखि घटनास्थलमै बसेर अनुसन्धान गरिरहेको छ ।