काठमाडौं, २१ माघ । देशका केही भागमा आजबाट हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उल्लेखनीय कुनै मौसमी प्रणाली नहुँदा आज बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । तराईका भू–भागमा हुस्सु कुहिरो लागेको छ ।
आज दिउँसो भने प्रदेश–१ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। वाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । आज राति लुम्बिनी प्रदेशका साथै प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
यस्तै भोलि शनिबार प्रदेश नं.१ र गण्डकी प्रदेशका हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आइतबार पनि प्रदेश नं. १ को हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै हिमपात तथा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।