Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

अन्तर बैंक एटिएम प्रयोग गर्दा १५ रूपैयाँभन्दा बढी नलाग्ने


875
Shares

अन्तर बैंक एटिएम प्रयोग गर्दा १५ रूपैयाँभन्दा बढी नलाग्ने

काठमाडौं, १७ माघ । अब एटिएम कार्ड जारी गरेको बैंकबाहेक अन्य बैंकको एटिएम (अन्तर बैंक एटिएम) प्रयोग गर्दा १५ रूपैयाँभन्दा बढी नलाग्ने भएको छ।

राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०७९ ले अन्तर बैंक एटिएम प्रयोग गर्दा १५ रूपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था गरेको हो।

राष्ट्र बैंकले कोभिडकालमा प्रत्येक महिना दुइटासम्म यस्तो कारोबारमा बैंकहरूले शुल्क लिन नपाउने गरी दिएको सुविधा समेत हटाएको छ।

अन्तर बैंक एटिएम प्रयोग गर्दा करिब १० रूपैयाँ मुलुक बाहिरिने गरेको छ। यही कारण यस्तो सुविधा हटाइएको हो। यसअघि अन्तर बैंक एटिएमको प्रयोगमा अधिकतम २० रूपैयाँसम्म लिन पाइने व्यवस्था थियो।

त्यस्तै, विद्युतीय कारोबार गर्दा खाताबाट रकम काटिने तर भुक्तानी वा ट्रान्सफर नहुने अवस्थामा समेत नयाँ नियम ल्याइएको छ। यसरी पैसा पठाउनेको खाता रहेको संस्था र पाउनेको खाता रहेको संस्था फरकरफरक भए पनि पनि कारोबारपछिको तीन दिनभित्र हिसाब मिलान हुनुपर्ने व्यवस्था गरिएको छ। यसअघि यस्तो कारोबारको हिसाब मिलानको लागि सात दिनको समय दिइएको थियो।

वालेटबाट प्रतिदिन गरिने रकममान्तर (फण्ड ट्रान्सफर) को सीमा समेत परिवर्तन गरिएको छ भने प्रति कारोबार रकमको सीमा हटाइएको छ। अब बैंक खाताबाट वालेटमा प्रतिदिन दुई लाख रूपैयाँ, वालेटबाट अन्य बैंक खातामा पनि प्रति दिन दुई लाख रूपैयाँ र एउटा वालेटबाट अर्को वालेटमा ५० हजार रूपैयाँसम्म पठाउन पाइनेछ।

वालेटबाट बैंकका रकम पठाउँदा मात्रै १० रूपैयाँ लाग्ने व्यवस्था समेत गरिएको छ। एजेन्टमार्फत् वालेटमा पाँच हजारदेखि २५ हजारसम्म रकम लोड गर्दा र झिक्दा प्रतिकारोबार पाँच देखि २५ रूपैयाँसम्म लाग्ने भएको छ।

मोबाइल बैंकिङ वा इन्टरनेटबाट अन्तर बैंक रकम पठाउँदा प्रतिकारोबार १० रूपैयाँमात्र लाग्ने व्यवस्था गरिएको छ।

रियल टाइम ग्रस सेटलमेन्टको माध्यमबाट कारोबार गर्दा बिहानको समयमा प्रतिकारोबार १० रूपैयाँ, दिउँसोको समयमा २० रूपैयाँ र साँझको समयमा भने दुई सय रूपैयाँ शुल्क तोकिएको छ।

वालेटमार्फत् राजस्व भुक्तानीमा पनि अबदेखि अधिकतम १० रूपैयाँभन्दा बढी शुल्क तिर्न नपर्ने भएको छ। राजस्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमार्फत् गरिने राजस्व भुक्तानीसम्बन्धी कारोबारमा यस्तो व्यवस्था गरिएको हो।

यसअघि तीन हजारसम्मको यस्तो भुक्तानीमा पाँच रूपैयाँ, सो रकमदेखि १० हजार रूपैयाँसम्मको लागि १० रूपैयाँ र १० हजारभन्दा माथिको भुक्तानीमा २० रूपैयाँसम्म लाग्ने गर्दथ्यो। अब भने पाँच हजार रूपैयाँसम्मको लागि पाँच रूपैयाँ, सोदेखि १० हजार रूपैयाँसम्मको लागि ८ रूपैयाँ र सोभन्दा माथिको लागि १० रूपैयाँ शुल्क तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology