गोरखा, ११ माघ । कर्तव्य ज्यान मुद्दामा फरार रहेकी गोरखाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ कलंकी बस्दै आएकी गोरखा शहिदलखन गाउँपालिका–९ नामजुङ घर भएकी २७ वर्षीया सीता लामिछानेलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
सर्वोच्च अदालतको २०७२ फागुन २० गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनसुन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौंको कलंकीबाट पक्राउ गरेको जनाएको छ ।
लामिछानेले २०७० मंसिर ७ गते शिशु जन्माई चितवन साविक पिठुवा गाबिस–७ माधवपुरस्थित धानखेतको कुलोमा वेवारिसे अवस्थामा फालेको नवजात शिशुको शव फेला परेको थियो । घटना पछि कर्तब्य ज्यान मुद्दामा सर्वोच्च अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागी जिल्ला अदालत काठमाडौंमा पेश गरिएको केन्द्रीय अनसुन्धान ब्यूरो महाराजगंज जनाएको छ ।