गोरखा, ११ माघ : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–२ ल्हो स्थित हिनांगमा रहेको करिब २ सय बर्ष पुरानो पुंगजी गुम्बा आगलागी भएको छ । आगलागीबाट गुम्बा जलेर पूर्ण रुपमा ध्वस्त भएको जिल्ला गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आर्चायले जानकारी दिनुभयो । आज बिहान गण्डकी प्रदेशका प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपाने सहितको टोली हेलिकप्टर मार्फत त्यहाँ पुगेर आगलागीबाट क्षतिग्रस्त गुम्बाको स्थलगत अबलोकन गरेको उहाँले बताउनुभयो ।

मंगलबार दिउँसो करिब ४ बजेदेखि गुम्बामा आगलागी भएको अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाई छ । आगलागीबाट मन्दिर भित्र रहेका सबै मूर्ति, ऐतिहासिक ग्रन्थहरुका साथै ताम्रापत्रहरु जलेर नष्ट भएका छन् । उक्त गुम्बा गएको बर्ष मात्रै पुनः निर्माण गरिएको थियो ।
अनुगमन टोलीमा सहभागी गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केदार खनालले सोलारका लागि प्रयोग भएको तारमा सर्ट भएपछि गुम्बामा आगलागी भएको हुनसक्ने अनुमान गरिएको बताउनुभयो । ऐतिहासिक तथा पुरातात्विक हिसाबले अति महत्वपूर्ण मानिएको उक्त गुम्बामा भएको आगलागी स्थानियको सहयोगमा गएराती अबेर नियन्त्रणमा आएको उहाँको भनाई छ ।
गुम्बामा भएको आगलागीका कारण ३० करोड भन्दा बढीको क्षति भएको हुनसक्ने गोरखा क्षेत्र नम्बर १ (१) का प्रदेशसभा सांसद नन्दप्रसाद न्यौपानले जानकारी दिनुभयो । घटनास्थल पुगेर फर्कनु भएका सांसद न्यौपानले सदरमुकाम फर्किए लगत्तै आगलागीका बारेमा संघिय र प्रदेश सरकारलाई जानकारी गराउने र पुनःनिर्माणका लागि पहल गर्ने बताउनुभयो । समुन्द्र सतहबाट ३ हजार ३ सय मिटर उचाईमा रहेको उक्त रहेका सवै सामान जलेर नष्ट भएको पाइएको प्रहरीले जनाएको छ । तस्विर सौजन्य : शिवहरी तिमल्सिना