गोरखा,१० माघ । गोरखामा पोहोर साल भन्दा यो वर्ष सुन्तला उत्पादन क्षेत्र घटेको छ । जिल्लामा गत आर्थिक वर्ष २०७७÷०७८ भन्दा यो वर्ष सुन्तला उत्पादन क्षेत्र ३० हेक्टर क्षेत्रफल घटेको हो । उत्पादन क्षेत्र घटेसँगै सुन्तला उत्पादनमा पनि ह्रास आएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना गोरखाको तथ्याङक अनुसार आर्थिक वर्ष २०७७÷०७८ भन्दा आर्थिक वर्ष २०७८÷०७९ मा एक हजार दुई सय ३७ मेट्रिक टन उत्पादन घटेको छ । यो वर्ष जम्मा ४२ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको परियोजना गोरखा शाखाका कृषि अधिकृत रविन्द्र पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत वर्ष ५ हजार ४ सय ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्लामा आ.व ०७४÷०७५ बाट सुरु भएको फलफुल जोन कार्यक्रममा जिल्लाको ५ वटा पालिका समावेश भएको छ । जसमा गोरखा नगरपालिका, पालुङटार नगरपालिका, शहिद लखन गाँउपालिका, गण्डकी गाँउपालिका र भिमसेन थापा गाँउपालिका रहेका छन् । यहीं ५ वटा पालिकालाई नै सुन्तलाको पकेट क्षेत्र बनाएर उत्पादन गर्दै आएको छ । यो मध्ये पनि सबै भन्दा धेरै सुन्तला उत्पादन हुने क्षेत्र भनेको शहिद लखन गाँउपालिका हो । शहिद लखनको मनकामना क्षेत्रलाई सुन्तला उत्पादनको मुख्य पकेट क्षेत्र भनेर पनि चिनिन्छ ।
पछिल्लो समय सुन्तला उत्पादन घट्नुमा पशुपालन घट्दै जानु, सिचाईं तथा छापो व्यवस्थापन नहुनु, शोषण तत्वको कमी हुनु रहेको उहाँ बताउनु हुन्छ । सुन्तलामा लाग्ने सिट्रस ग्रिनिङ रोगको कारण पनि उत्पादन घटेको पौडेलको भनाई छ । यो रोगको कारण सुन्तलाको बोट धेरै मर्नी गरेको उहाँले बताउनुभयो । कृषकको ध्यान कागती खेती तिर आर्कषण बढेकाले पनि सुन्तला उत्पादनमा कमी आएको हो । अहिले धेरै जसो किसान कागती खेती तर्फ आर्कषित बनेका छन् ।
सुन्तलना खेतीमा कृषकलाई प्रोसाहित गर्न पुराना मरेका सुन्तलाको बोट कटेर खाडल खन्नेलाई प्रति बोट एक सय रुपैयाँ दिने कार्यक्रम कार्यान्वयनमा ल्याएको उहाँले जानकारी दिनुभयो । ‘हामीले सुन्तला खेतीमा कृषकको आर्कषण बढाउन पुराना मरेको बोट कटेर खाडल खन्नेलाई प्रति बोट एक सय रुपैयाँ दिने निर्णय गरेका छौं ।’ उहाँले भन्नुभयो, ‘यो कार्यक्रमबाट उनीहरु सुन्तला खेती प्रति प्रोसाहित हुने आशा छ ।’ यो वर्ष फलेको मध्ये करिब ९० प्रतिशत सुन्तला टिपि सकेको कृषि अधिकृत पौडेलले बताउनुभयो ।
बाँकी रहेको पनि टिप्ने तयारीमा रहेको उहाँको भनाई छ । ‘हामीले जिल्ला भित्र उत्पादन भएका मध्ये करिब करिब सबै सुन्तला टिपि सकेका छौं ।’ उहाँले भन्नुभयो, ‘ अब बाँकी १० प्रतिशत जति छ होला त्यो पनि टिप्ने तयारीमा छौं । यो वर्ष करिब ८ करोडको हाराहारीको सुन्तला बिक्री भएको उहाँले बताउनु भएको छ ।