Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

टिकटकमा भाइरल भएको जेल रेष्टुरेन्ट प्रशासनले बन्द गरायो


1.2K
Shares

टिकटकमा भाइरल भएको जेल रेष्टुरेन्ट प्रशासनले बन्द गरायो

बुटवल,१० माघ । रुपन्देहीको भैरहवास्थित जेल रेष्टुरेन्ट एण्ड बारलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बन्द गराएको छ । आमनागरिकको जीवनमा गलत प्रभाव पार्ने प्रकृतिको गतिविधि र दृश्य रेष्टुरेन्टमा देखिएकोले अर्को आदेश नभएसम्मका लागि बन्द गराइएको हो ।

एक महिनाअघि देवकोटा चोकमा सञ्चालनमा आएको रेष्टुरेन्टमा जेल र जेलको कोठा जस्तो संरचना, हातमा हतकडी लगाउने, फासी तथा आत्महत्या गर्न प्रयोग गरिने (पासो) नाइनलको डोरी, बन्दुकहरु सजाइएको भेटिएकोले ती सबै वस्तु बरामद गरी रेष्टुरेन्ट बन्द गराइएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताउनुभयो ।

उक्त रेष्टुरेन्टमा खिचेका तस्वीरहरु सामाजिक सञ्जालमा आलोचित बनेपछि स्थानीयको गुनासोको आधारमा प्रशासनले सोमबार साँझ रेष्टुरेन्टको अनुगमन गरी बन्द गराएको हो ।

‘रेष्टुरेन्ट सञ्चालनको उद्देश्य उपभोक्तालाई गुणस्तरीय खाना खाजा खुवाउने र कानुनले छुट दिएको मनोरन्जनयुक्त वातावरण दिने हो तर यो रेष्टुरेन्टले समाज र आमनागरिकमा गलत सन्देश दिने र गलत बाटोमा जान प्रेरित गर्ने खालका संरचना, दृश्य र सामानहरु राखेको पाइएकाले बन्द गराइएको हो,’ अर्यालले भने, ‘रेष्टुरेन्ट सञ्चालकलाई आज बोलाएका छौं, छलफलपछि कानुनअनुसार थप निर्णय हुन्छ ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology