Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

क्यूएफएक्सले ‘छक्कापञ्जा ४’सँगै ‘छड्के २’ पनि प्रदर्शन गर्ने पूर्वतयारी


1.1K
Shares

क्यूएफएक्सले ‘छक्कापञ्जा ४’सँगै ‘छड्के २’ पनि प्रदर्शन गर्ने पूर्वतयारी

काठमाडौं,१० माघ । सातामा एउटा मात्र ‘ठूलो’ फिल्म रिलिज गर्ने पूर्वतयारीबाट मल्टिप्लेक्स चेन ‘क्यूएफएक्स’ पछि हटेको छ । नेपाली फिल्म बजारमा ४० प्रतिशत हिस्सा ओगट्ने यो हलले फागुन १९ गते अनमोल केसी स्टारर फिल्म ‘छड्के २’लाई रिलिज गर्ने निर्णय गरेको छ । अब उक्त मितिमा क्यूएफएक्समा ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ एकसाथ रिलिज हुनेछन् ।

हलको आधिकारिक वेबसाइटमा उल्लेख भएअनुसार प्रदर्शनको तयारीमा रहेको फिल्मको सूचीमा ‘छक्कापञ्जा’को चौथो श्रृंखलासँगै ‘छड्के २’ पनि सूचीकृत भएको छ । हलले सामाजिक सञ्जालका ह्यान्डलबाट समेत निगम श्रेष्ठ निर्देशित फिल्म प्रदर्शन हुने जानकारीसहितको पोस्ट गरिरहेको छ ।

गत पुस १४ गते अनलाइनखबरसँग कुरा गर्दै क्यूएफएक्स सञ्चालकमध्येका एक भाष्कर ढुंगानाले एउटै मितिमा दुई ठूला फिल्म रिलिज नगर्ने बताएका थिए । आफूहरुसँग समन्वय गरेर प्रदर्शन मिति तय गर्न उनले वितरक तथा निर्मातालाई आग्रह गरेका थिए । नीतिगत रुपमा यस्तो निर्णय गरिएको र कुनै एक फिल्मलाई यो निर्णय लक्षित नहुने उनले बताएका थिए ।

क्यूएफएक्सले एउटै मितिमा दुई ठूला नेपाली फिल्म रिलिज नगर्ने

फागुन १९ गतेको मिति ‘छक्कापञ्जा ४’लाई दिइसकेको समेत उनले जनाएका थिए । क्यूएफएक्सको यो तयारीको खबर बाहिरिएपछि निर्माता र वितरक क्रुद्ध बनेका थिए । क्यूएफएक्सबाहेकका अन्य हलले चाहिं उक्त मितिमा दुइटै फिल्म रिलिज गर्ने निधो गरेका थिए । क्यूएफएक्सले यस्तो निर्णय गरेपछि उक्त मितिमा दुई प्रतीक्षित फिल्म एकसाथ रिलिज हुने निश्चित भएको छ ।

दुई ठूला फिल्म आउँदा हुनेछ यी असर

अब फागुन १९ गते ‘छडके २’ र ‘छक्कापञ्जा ४’ एकसाथ रिलिज हुने भएपछि दुवै फिल्मलाई यसको असर स्पष्ट देखिनेछ । कुन हलले कति शो विभाजन गर्नेछन् भन्ने कुरा अहिले नै पुष्टि नहुने भए पनि दुवैले राम्रै संख्यामा शो पाउने अनुमान गरिएको छ । पर्याप्त शो उपलब्ध नहुने र धेरै शो होल्ड हुने भएपछि दुवै फिल्मको ओपनिङ अपेक्षाअनुसार हुनेछैन ।

दर्शक र रेभेन्यु बाँडिंदा यसले फिल्मको कमाइ प्रभावित हुनेछ । ‘छड्के २’को आशा ओपनिङमा टिकेको छ भने ‘छक्कापञ्जा ४’लाई कीर्तिमानी कमाइ गर्न पहिलो साता निकै संवेदनशील र अर्थपूर्ण हुनेछ । दुवै फिल्मका आ–आफ्ना बाध्यता छन्, जसले एकअर्कालाई सहज भने हुनेछैन ।

अर्कोतर्फ, फागुन १९ गते शर्मिला पाण्डेले निर्माण गरेको फिल्म ‘परस्त्री’ पनि आउने तयारीमा छ । भलै, यसको औपचारिक घोषणा भएको त छैन तर निर्मात्री पाण्डेले सोही मितिमा फिल्म ल्याउने जनाएकी छन् । ‘परस्त्री’ निर्माताले नेपाल र भारतमा एकसाथ रिलिजको तयारी गरिरहेका छन् जसले पनि ल्याउनैपर्ने दबाब यो मितिमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology