गोरखा, ६ माघ । गोरखाको भीमसेन थापा गाउँपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० को पहिलो चौमासिक कार्यक्रम अन्तरगतको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । सुशासन, पारदर्शिता, बिकास निर्माण तथा गाउँपालिकाले प्रवाह गर्दै आएको सेवा प्रवाहको गुणस्तरीयता लगायतका सवालमा नागरिकहरुको सुझाव, जिज्ञासा र प्रतिक्रिया बुझ्न सार्वजनिक सुनुवाई गरिएको गाउँपालिकाले जनाएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले गाउँपालिकाले उपभोक्ता समिति मार्फत सम्पन्न गरेका योजनाको रकम भुक्तानीमा ढिलाई गर्ने गरेको गुनासो गरेका छन् । त्यस्तै वडा कार्यालय मार्फत छनोट भएका योजनाहरु समेत कटौती भएको नागरिकहरुको गुनासो रहेको छ । गाउँपालिका भित्र पर्ने मध्यपहाडी लोकमार्गमा ठेकेदारले काममा ढिलासुस्ती गर्ने गरेको, मरणघाटसम्म पुग्ने पालिका भित्रका गोरेटोबाटो निर्माणमा पालिकाले ध्यान नदिएको जस्ता गुनासो सार्वजनिक सुनुवाईमा नागरिकहरुले गरेका छन् ।
कार्यक्रममा सहभागीहरुले उठाएको प्रश्नको जवाफ दिनुहुदैँ गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल) ले गाउँपालिकाले छिटो योजना सम्पन्न गर्ने उपभोक्ता समितिहरुलाई पुरस्कृत गर्ने व्यवस्थाको बिकास गर्ने भन्दै नागरिकहरुले उठाएका गुनासोलाई सम्बोधन गरेर अघि बढ्ने बताउनुभयो । उहाँले नागरिकहरुबाट प्राप्त हुने सुझाव र प्रश्नहरुले जनताको पक्षमा काम गर्न सजिलो हुने बताउदै नागरिकहरुका गुनासो सुन्नका लागि गाउँपालिका गुनासो चौतारी कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । अध्यक्ष बन्जराले मन्दिर भन्दा मरणघट्टाका लागि बजेटमा प्राथामिकता दिनुपर्छ भन्ने आफ्नो मान्यता रहेको समेत उल्लेख गर्नुभयो ।

सार्वजनिक सुनवाई कार्यक्रममा उठेका प्रश्नको जवाफ दिनुहुदैँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले गाउँपालिकाले दैनिक भन्दापनि तालिका बनाएर योजनाहरुको अनुगमन सुरु गरेको बताउनुभयो । ‘ मंगलबार र शुक्रबार योजना अनुगमन तालिका बनाएका छौ, उहाँले भन्नुभयो, ‘एक पटकमा एउटा मात्र भन्दापनि दुई तिनवटा योजनाको एकैपटक अनुगमन गर्ने गरी व्यवस्था मिलाएका छौ ।’ प्रमुख प्रशासकिय अधिकृत अधिकारीले कागजपत्र योजनाहरुको भुक्तानीका लागि एक पटक भन्दाबढी कार्यालय धाउनु नपर्ने समेत उल्लेख गर्नुभयो ।
उहाँले काजगपत्र नपुग्दा नपुग्दै भुक्तानी दिन नसकिने भएकाले पहिलो पटक नै नपुगेका कागजातको बारेमा राम्रो जानकारी दिएर पठाउने गरिएको बताउनुभयो । अनलाईन प्रणालीबाट भुक्तानी गर्ने गरिएकाले कहिलेकाँही प्राविधिक समस्या भने पर्ने गरेको स्विकार गर्नुभयो । तर बिनाकारण योजनाको रकम भुक्तानीमा ढिलाई नहुने उहाँको भनाई छ । उहाँले भीमसेन थापा गाउँपालिकाले पालिका स्तरका योजना समेत वडाबा नै सम्झौता गर्ने प्रणाली व्यवस्था गरेको बताउनुभयो । सार्वजनिक सुनवाई कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष बिकास श्रेष्ठले बजेट सिलिङका कारण वडामा छनोट भएका केही योजना कटौती गर्नुपरेको भन्दै त्यस्ता योजनालाई आगामी आर्थिक बर्षको बजेटमा सम्बोधन गर्ने बताउनुभयो ।
सोच नेपाल मिडिया एण्ड एड्भटाईजिङ प्रा।लिको समन्वयमा भएको सार्वजनिक सुनवाई कार्यक्रम बिभिन्न वडाका वडाध्यक्षहरु, गाउँकार्यपालिका सदस्यहरु, वडा सदस्यहरु बिभिन्न शाखाका प्रमखहरु तथा अन्य कर्मचारी सहित ८४ जनाको सहभागिता रहेको थियो ।