गोरखा, ३० पुस । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले चालु आर्थिक बर्ष २०७९÷०८० को पहिलो चौमासिक कार्यक्रमको सार्वजनिक सुनवाई सम्पन्न गरेको छ । गाउँपालिकाको कार्यालय ताकुकोटमा भएको सार्वजनिक सुुनुवाई कार्यक्रममा सहभागीहरुले गाउँपालिकाले बादर नियन्त्रणका लागि योजना निर्माणमा जोड दिएका छन् । कार्यक्रममा बोल्ने अधिकांस नागरिकहरुले बाँदरको आंतकले कृषकहरुले कृषि पेशाबाट नै बिस्थापित हुनुपर्ने अबस्था भएको भन्दै गाउँपालिकाले कृषि उत्पादन बृद्धिमा जोड दिएपनि बाँदर नियन्त्रण गर्न नसके समस्या उत्पन्न हुने बताएका हुन् ।
त्यस्तै गाउँपालिका कृषिशाखा र तथा पशुशाखाले किसानहरुको समस्याको राम्रो सुनुवाई नगर्ने गरेको, खानेपानीको पर्याप्त सुबिधा नभएको जस्ता समस्या उठाएका थिए । कार्यक्रममा सहभागी नागरिकहरुले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट राम्रो काम हुन नसकेको गुनासो गरेका छन् । उनिहरुले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएपनि कार्यक्रममा सहभागीहरुले झारा टार्ने गरी काम गर्ने गरेकाले बजेट अनुसार काम हुन नसकेको बताएका हुन् । कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिनहुदैँ गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले बाँदर नियन्त्रणको समस्या बारपाक सुलिकोटको मात्र नभएर राष्ट्रिय समस्य भएकाले सवैले मिलेर समाधान खोज्नुपर्नेमा जोडदिनुभयो ।
उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमका योजनाहरुलाई प्रभावकारी अनुगमन पालिकाले मात्र नभएर स्थानीयले पनि गर्नुपर्ने बताउनुभयो । अध्यक्ष भट्टले बिकास निर्माणका काममा गाउँपालिकाले प्रभावकारी अनुगमन गर्दै आएको भएपनि कतिपय ठाउँमा अनुगमनमा समस्या भएको बताउनुभयो । उहाँले पालिका भित्र पर्ने ध्याम्पेसालदेखि ताकुकोटसम्मको सडक कालोपत्रेमा ठेकेदार कम्पनीले ढिलासुस्ती गरेकाले सम्बन्धित कार्यालय, ठेकेदार कम्पनीलाई पटक पटक दवाब दिदै आएको जानकारी गराउनुभयो । उहाँले हुँडी खोला पुल निर्माण नहुदाँ जनतालाई सास्ती भएकाले उक्त पुल निर्माणका लागि पहल गरिरहेको बताउनुभयो ।
सार्वजनिक सुनवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम आर्चायले पालिकाले दैनिक रुपमा नागरिकहरुलाई प्रवाह गर्ने सेवा सुबिधा चुस्तदुरुस्त पार्र्दै आएको बताउनुभयो । सोच नेपाल मिडिया एण्ड एड्भटाइजिङ प्रा.लिको समन्वय तथा गाउँपालिकाको आयोजनामा गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङ, वडाध्यक्षहरु, गाउँपालिका बिभिन्न शाखाका प्रमुख तथा पालिकाबासी गरी ११० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।