Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्छौँ  : प्रधानमन्त्री प्रचण्ड


910
Shares

हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्छौँ  :  प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा बिस्तार गर्ने बताउनुभएको छ । शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासङ्घको ४२ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।‘‘हस्तकला क्षेत्र नेपालका लागि अर्ग्यानिक क्षेत्र छ ।

यो असीमित सम्भावना भएको क्षेत्र हो’ प्रधानमन्त्रीले भने, ‘‘यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकियो भने एकातिर व्यापार घाटा कम गर्न सकिन्छ । अर्कोतिर नेपाली मौलिकतालाई विश्वभरि प्रचार र बिस्तार गर्न सकिन्छ । यसैले सरकार हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्न प्रतिबद्ध छ ।’’

प्रधानमन्त्रीले निजी क्षेत्रसँगको साझेदारीमा हस्तकला उद्योग प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘निजी क्षेत्रलाई विश्वासमा नलिईकन, निजी क्षेत्रसँगको साझेदारीबिना समृद्धिको लक्ष्यमा अपेक्षित सफलता हासिल गर्न सकिँदैन । मैले क्याबिनेटको पहिलो बैठकबाट नै आर्थिक विकास र समृद्धिका लागि केही कदम चालेको छु । सरकारका सचिवहरूलाई दिएको निर्देशन र संसद्को सम्बोधनमा पनि त्यो कुरा प्रस्ट राखेको छु ।’’

‘‘यस पटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा छु । यस पटक जति काम गर्छु, राम्रो मात्र गर्छु’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘म तेस्रो पटक प्रधानमन्त्री भएको छु। यो मेरा लागि परीक्षा पनि हो । म परीक्षामा उत्तीर्ण हुन्छु, हुनै पर्छ ।‘‘निर्वाचनले हामीलाई मिलेर जाने जनमत दिएको छ । कसैलाई पनि अहङ्कार गर्ने अभिमत जनताले दिएका छैनन्। हामी इमानदार भएर जनताको पक्षमा राम्रो काम गरेनौँ भने यो परीक्षामा चुक्छौँ’’ उहाँले भन्नुभयो । हस्तकला व्यवसाय प्रवर्द्धनका निम्ति पाठ्यक्रममा नै केही विषय राख्नु राम्रो हुने प्रधानमन्त्रीले बताउनुभयो ।

उनले भने, ‘‘हस्तकला उद्योगमा पुस्तान्तरणको समस्या छ भन्ने मलाई थाहा छ। यसलाई अर्को पुस्तामा हस्तान्तरण गर्ने पहल हामीले लिनुपर्छ । यस कारण पाठ्यक्रममा नै हस्तकला उद्योगको कुरा राख्ने माग सकारात्मक छ, म पहल गर्छु ।’’साधारण सभामा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकलाको क्षेत्रलाई प्रवर्द्धन गर्न सक्दा नेपाली मौलिकताका वस्तुहरू निर्यात गर्न सकिनेमा जोड दिँदै हस्तकलाको क्षेत्र सरकारको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology