पोखरा, २९पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । एमाले सांसद अधिकारी गत पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले शुक्रबार दिउँसो १ बजे प्रदेश सभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् । अधिकारीले गठबन्धनका तर्फबाट ३३ सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरेका थिए।
अधिकारीलाई एमालेका २२, नेकपा (माओवादी केन्द्र) का आठ, राप्रपाका दुई र स्वतन्त्र निर्वाचित राजीव गुरुङले समर्थन गरेका थिए ।मुख्यमन्त्री अधिकारी विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने र बिनाविभागीय मन्त्रीको मन्त्रालय तय गर्ने योजनामा छन्।
गण्डकीमा मुख्यमन्त्रीसहित चार मन्त्री नियुक्त भए पनि मन्त्रालयको टुङ्गो भने लाग्न सकेको छैन । एमालेकी सीता सुन्दास, माओवादी केन्द्रका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ मन्त्रीमा नियुक्त भएका छन्।