Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

वडासदस्यलाई विभेदजन्य गालीगलौज गरेको आरोपमा वडाध्यक्ष पक्राउ


959
Shares

वडासदस्यलाई विभेदजन्य गालीगलौज गरेको आरोपमा वडाध्यक्ष पक्राउ

पोखरा, २६ पुस । वडा सदस्यलाई विभेदजन्य गालीगलौज गरेको आरोपमा वडाध्यक्ष पक्राउ गरेका छन् । आफ्नै वडा सदस्यलाई जातीय विभेदजन्य गालीगलौज गरेको आरोपमा पोखरा महानगरपालिकाका एकजना वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगर वडा नं– २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी रहेका छन् ।

गत आइतबार जातीय विभेदजन्य गालीगलौज गरेको उजुरी परेपछि मंगलबार बिहान अधिकारीले आफैं प्रहरी कार्यालयमा उपस्थित भएर गिरफ्तारी दिएको जिल्ला प्रहरी कार्यालय कास्की निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो । पोखरा २४ कि दलित वडासदस्य मैया नेपालीले आफूलाई विभेदजन्य गालीगलौज गरेको भन्दै आइतबार उनीविरुद्ध जाहेरी दिएकी थिइन् । वडाध्यक्ष अधिकारीले ‘तेरो परिवारको हैसियत के हो वडाको बजेटमा दमै, कामी, सार्कीले सिनो लुछेको जस्तै गरी लुछ्न खोज्छेस्’ जस्तो अपमानजनक शब्द प्रयोग गरेको भन्दै कारबाहीको माग गर्दै नेपालीले उजुरी दिएकी थिइन् ।

वडा सदस्य नेपालीलाई पुस १८ गते लक्षित वर्गमा छुट्टिएको बजेट कार्यान्वयनका लागि आयोजित महिलाहरुको भेलामा अध्यक्ष र अन्य सदस्यहरुबीच छलफल हुँदै गर्दा अपमानजनक शब्द बोलेको उजुरीमा उल्लेख छ । स्रोतका अनुसार वडाध्यक्ष अधिकारीले यसअघि पनि पटकपटक वडासदस्य नेपालीमाथि अपशब्द एवं जातीय विभेदजन्य गालीगलौज गर्दै आएका थिए ।

यस विषयमा विवाद यसअघि महानगरमा पनि पुगेको थियो । महानगर उपमेयर मञ्जुदेवी गुरुङ समक्ष पुगेको विवाद आपसी समन्वयमा मिलाउन भन्दै फिर्ता पठाएकी थिइन् । ‘योभन्दा अगाडि पनि त्यस्तै गाली गर्नुहुने रैछ । हाम्रो (उपमेयर कार्यकक्ष)मा पनि आउनु भएको थियो ।

त्यतिबेला उपमेयरज्युले आपसी समझदारीमा विवाद टुंग्याउन समन्वय गरिदिनु भयो,’ उपमेयर गुरुङको सचिवालयका एक सदस्यले भने, ‘अहिले भने सबै सदस्यका अगाडि सार्वजनिक रुपमै गालीगलौजमा उत्रेपछि प्रहरी कार्यालयसम्म केस पुगेको हो ।’ प्रहरी निरीक्षक खड्काले अधिकारीमाथि अनुसन्धान अगाडि बढाइएको र जिल्ला अदालतबाट म्याद थपका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology