गोरखा, २५ पुस । सशत्र प्रहरीले कुनै बिपत परेर केबलकार रोकिएको खण्डमा यात्रुलाई कसरी उद्वार गर्ने भन्ने बारेमा अभ्यास सम्पन्न गरेको छ । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–४ को चेरेश स्थित मनकामना केबलकारमा सशत्र प्रहरीको एक टोलीले रोप रेस्क्यु सम्बन्धि अभ्यास गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले मनकामना केवलकार प्रालिको सहकार्यमा उक्त रोप रेस्क्यु सम्बन्धि अभ्यास गरिएको शिक्षालयले जानकारी दिएको छ ।
मनकामना केबलकारमा दर्शनार्थी चढेको समयमा कुनै कारणवस केवलकार रोकियो र उद्वार गनुपर्ने अवस्था आएमा सजिलो तरिका अपनाई उनीहरुको उद्वार कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले सो अभ्यास गरिएको सशस्त्र प्रहरीका सहायक प्रबक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभया ।
घिर्नीको सहयोगमा डोरीको माध्यमबाट केवलकारमा अड्किएकाहरुलाई सो विधि अपनाई सजिलैसँग उद्वार गर्न सकिने तरिका अभ्यासमा देखाईएको थियो ।
भविष्यमा आईपर्न सक्ने समस्याहरुलाई सजिलैसँग समाधान गर्न सकियोस भन्ने उद्देश्यले गरिएको रोप रेस्क्यु अभ्यासमा शिक्षालयमा कार्यरत विपद् व्यवस्थापन सम्बन्धि दक्ष सशस्त्र प्रहरी कर्मचारीको सहभागिता रहेको थियो ।
यसअघि सो शिक्षालयले आगलागी नियन्त्रण, विपद् प्रकोप, दुर्घटना, भूकम्पमा परेकाहरुको खोज तथा उद्वार, उनीहरुलाई दिईने प्राथमिक उपचार र सहयोग जस्ता विषयलाई लक्षित गरी अभ्यास समेत गर्दै आईरहेको छ ।