कास्की,१८ पुस । कास्कीको मादी गाउँपालिका(१ सिक्लेसका सुरजकुमार गुरुङ आफ्नै घरमा जलेको अवस्थामा मृत भेटिएका छन् । निर्वतमान वडाध्यक्षसमेत रहेका उनी जलेको अवस्थामा मृत् भेटिएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिनुभयो। वडाध्यक्ष देवीजङ्गका अनुसार आइतबार राति सुरजको घरमा आगो लागेको थियो ।
राति साढे १० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको थियो । सुरजकुमार विसं २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए । कपडा पसल सञ्चालन गर्दै आएका गुरुङ घरमा एक्लै बस्ने गर्थे । उनका छोरारबुहारी गाउँकै अर्को घरमा बसोबास गर्दै आएका छन् ।
आगलागीबाट सँगैको तौबहादुर गुरुङको घरसमेत जलेर पूर्ण क्षति भएको वडाध्यक्ष देवीजङ्गले बताउनुभयो । तौबहादुरको घरमा स्थानीय धनबहादुर गुरुङले किराना पसल सञ्चालन गर्दै आएका थिए । के कारणले आगालनगी भएको हो भन्ने एकिन हुन भने सकेको छैन ।