गोरखा, १७ पुस। गोरखामा उत्पादन हुदैँ आएको नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव भएको छ । गोरखा नगरपालिका–६, स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा माग अनुसार नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव हुदैँ आएको हो ।
कागज उत्पादनका लागि आबश्यक पर्ने लोक्ता जंगलबाट खोजेर ल्याउनु पर्ने भएपनि आबश्यकताका आधारमा कच्चा पर्दाथ आयात गर्न नसकिएको उद्योगका सञ्चालक पासाङ निमा शेर्पाले बताउनुभयो । ‘जंगलमा त खोजे जति लोक्ता पाइन्छ, उहाँले भन्नुभयो, ‘तर जंगलमा गएर झिक्ने, सुकाउने र यहाँसम्म ल्याउने मान्छे नै पाउन गाह्रो छ ।’
शेर्पाले घरेलु कार्यालयमा उद्योग दर्ता गरी नेपाली कागज उत्पादन गरेको झण्डै ५ बर्ष भइसकेको छ । ‘बजारमा जति उत्पादन गरेपनि बिक्रीका लागि कुनै समस्या छैन, शेर्पाले भन्नुभयो, ‘बरु कागज उत्पादनका लागि सधै कच्चा पर्दाथको अभाव हुने गरेको छ ।’ जंगलबाट झिकेर ल्याएको लोक्ता उद्योगले प्रति क्विन्टल १५ हजार रुपैयामा खरिद गर्ने गरेको उहाँको बताउनुभयो । एक क्विन्टल कच्चा पर्दाथबाट २ हजार थान २०÷३० साइजको कागज उत्पादन हुने शेर्पाले जानकारी दिनुभयो ।

उद्योगमा अहिले परिवारका ३ सदस्य सहित १० जनाले रोजगारी पाएका छन् । शेर्पाले करिब ८ लाख रुपैयाको लागतमा उद्योग सञ्चालन गरेको बताउनुभयो । ‘उद्योगका लागि दक्ष कामदारहरुलाई खानेबस्ने सुबिधा सहित १० हजारदेखि १५ हजार रुपैया तलव दिने गरेको छु, शेर्पाले भन्नुभयो, ‘ चर्को घाम लागको दिन एक जना कामदारले दैनिक २ सय पन्ना कागज उत्पादन गर्न सक्छ ।’
उद्योगले उत्पादन गरेको कागज काठमाण्डौमा बिक्री हुने गरेको उहाँको भनाई छ । ‘उद्योगमा १० ग्राम, २० ग्राम, ३० ग्राम र ४० ग्राम तौलका कागज उत्पादन हुने गर्दछ, शेर्पाले भन्नुभयो, ‘२० ग्राम कागजको प्रतिपन्ना २० रुपैया र ४० ग्राम कागजको प्रतिपन्ना ४० रुपैयामा नै ठूला उद्योगहरुले खरिद गरेर लैजान्छन् ।’

उहाँले उद्योगबाट गर्मी मौसममा दैनिक १ हजार ६ सय थान र जाडो मौसममा ८ सय थानसम्म कागज उत्पादन हुने बताउनुभयो । ‘जाडो मौसममा सुक्न अलिक समय लाग्ने भएकाले गर्मी मौसममा भन्दा कम उत्पादन हुन्छ, शेर्पाले भन्नुभयो, ‘गर्मी मौसममा बढीमा ३ घण्टा भित्रमा जालीमा राखेको लेदो सुकेर कागज तयार हुन्छ, तर जाडो मौसममा सुक्न झण्डै ५ घण्टा जति समय लाग्छ ।’
राम्रोसंग उद्योग चल्दा मासिक ४ लाख रुपैयासम्म उद्योगमा आम्दानी हुने गरेको शेर्पाले बताउनुभयो । उद्योगले अर्डर अनुसार कागज उत्पादन गर्दै आइरहेको सञ्चालक शेर्पाको भनाई छ । उहाँले उद्योगका लागि चाहिने कच्चा पर्दाथ बन कार्यालयको अनुमति लिएर उत्तरी गोरखाको लाप्राक, लापु, मान्वु, खरिबोट लगायतका क्षेत्रबाट संकलन गरी ल्याउने गरिएको जानकारी दिनुभयो ।

उद्योगबाट उत्पादित नेपाली कागज अघिकांस सरकारी कामकाजका लागि प्रयोग हुने गरेको भएपनि थाङ्का र्कोने, धुप बनाउने, डायरी बनाउने, नोटबुक बनाउने काममा समेत प्रयोग हुने गरेको सञ्चालक शेर्पाको जानकारी दिनुभयो । ४० ग्रामका कागज भने नेपाल बाहिर निर्यात हुने गरेको शेर्पाको भनाई छ ।