गोरखा, १६ पुष । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले भूमिहिन दलित, भूमिहिनसुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलनको काम पुनः सुरु गरेको छ । निर्वाचन आचारसंहितका कारण स्थागित भएको काम पालिका भित्रका ८ वटै वडाबाट पुनः सुरु गरेको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
भुमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने संघिय सरकारको तयारी अनुरुप पालिकाले पालिका भित्रका वडाहरु मार्फत लगत संकलनको काम अघि बढाएको उहाँले बताउनुभयो । लगत संकलन गरी यही पुस १७ गतेसम्म विवरण सिफारिस गर्न वडा कार्यालयलाई समय दिइएको गाउँपालिका अध्यक्ष भट्टको भनाई छ ।
‘हामीले सवै वडाहरुलाई एकहप्ता भित्रमा आ–आफ्नो वडामा रहेका बिबरण पठाउन निर्देशन दिएका छौ, उहाँले भन्नुभयो, ‘वडाहरुले विवरण सिफारिस गरेर पठाएपछि पालिकाले गर्नुपर्ने थप काम अघि बढ्छ ।’ लगत संकलन कार्यबिधि, २०७८ अनुसार वडा कार्यालयहरुले अनुसूची ७ र ७ (क) को ढाँचामा ७ दिने र पन्ध्रदिने सूचना निर्वाचन अघि नै प्रकाशन गरी सकेको जनाएको छ ।
तर निर्वाचन आचारसंहितको कारण बाँकी काम स्थगित भएकाले एकहप्ता भित्रमा कसैको दावी बिरोध वा उजुरी परेको भए वडासमितिले वडा स्तरीय सहजकीकरण समितिको सहयोगमा जाँचबुझ गर्न र आबश्यक निर्णय गर्न भनेको छ ।
उजुरी नपरेको भएपनि नपरेको व्यहोरा सहितको निर्णय गरी ७ दिने तथा पन्ध्रदिने सूचना र निर्णयको प्रतिलिपि सहितको बिबरण पालिकामा सिफारिस गरेर पठाउन गाउँपालिकाले निर्देशन दिएको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।